बुटवल–बुटवल उपमहानगरपालिकाले आफुखुशी कर्मचारीको बढुवा र ग्रेड वृद्धि गर्यो। गत मंसिरबाट लागू हुने गरी ग्रेड वृद्धि गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
उजुरीपश्चात् अख्तियारले छानबीन गर्दै प्रशासनिक दण्डहीनता आउनसक्ने भन्दै संघीय मामिलामा पत्र पठाएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुटवललाई निर्णय सच्याउन पत्र पठाएको छ।
संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको पत्रपछि बुटवल उपमहानगरपालिकाले आफूखुशी गरेको कर्मचारी बढुवा र ग्रेड वृद्धिको निर्णय सच्याउने भएको छ।
बुटवल उपमहानगरपालिकाले गत मंसिरबाट लागू हुने गरी साविकका स्थानिय तहका कर्मचारीको बढुवा र ग्रेड वृद्धि गरेको थियो।
गत असार २४ गते अख्तियारले पत्र पठाएपछि संघीय मामिला मन्त्रालयले साउन ६ गते बुटवल उपमहानगरपालिकालगायत सबै स्थानीय तहलाई पत्र पठाएर संघीय कानूनमा व्यवस्था नभएसम्म कर्मचारीको बढुवा र ग्रेड वृद्धि थप गर्ने कार्य नगर्न भनेको छ।
संघीय मन्त्रालयबाट पत्र आएपछि बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बढुवा र गे्रेड बृद्धिको निर्णय सच्याउने जानकारी दिए। ‘अबको बोर्ड बैठक बसेर निर्णय सच्याउँछौं–उनले भने।