बुटवल–समुदायमा कोरोना संक्रमण फैलिएको/नफैलिएकोबारे थाहा पाउन रुपन्देहीमा नमुना संकलन भइरहेको छ। बुटवल उपमहानगरपालिकासँगै, सैनामैना, भैरहवा र लुम्बिनी क्षेत्रमा स्वाब संकलन गरिएको हो। सैनामैनामा बुधबार ५४ जनाको स्वाब संकलन गरिएको थियो।
संकलन गरिएका मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको प्रादेशिक प्रयोगशाला भैरहवाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए। सैनामैना १ र ९ को बढी भीडभाड हुने क्षेत्र तथा यस अघि संक्रमित देखिएको क्षेत्रमा स्वाब संकलन गरिएको थियो।
बुटवल र लुम्बिनीमा बिहीबार संकलन गरिएको नमुनाको रिपोर्ट आउन बाँकी छ। बुटवलको हाटबजारमा बिहीबार ३५ वटा स्वाब संकलन गरिएको थियो। हाटबजार लाइनमा ग्राहकको बढी जमघट हुने पसलमा स्वाब संकलन गरिएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले जानकारी दिए।
‘किराना, फलफूल, तरकारी, खाद्यान्न, खाजापसल दुधजन्य पसल गरेर र्याण्डम्ली गरेर धेरै सम्पर्क हुने पसलमा संकलन गरिएको हो–उनले भने–भोलि शनिबारसम्म रिपोर्ट आउँछ कि।’ हाट बजार क्षेत्रमा संकलन गरिएको स्वाबको रिपोर्ट हेरेर त्यस आधारमा अन्य परिक्षणको दायरा बढाउने सिंहले बताए।
‘एउटा मात्र रिपोर्ट पोजेटिभ देखियो भने त्यसको लामो कन्ट्याक्ट ट्रेसिङ हुन्छ–उनले भने। शुक्रबार भैरहवा क्षेत्रमा पनि स्वाब संकलन गरिएको छ।