गुल्मी-गुल्मीमा पहिरो जाँदा एकैघरका ४ जनाको मृत्यु भएको छ। रुरु गाउँपालिका वडा नं ५ आँटीपाटामा पहिरो जाँदा बिना माझी, उनका २ छोरा र एक छोरीको मृत्यु भएको स्थानीयले जानकारी गराएको गुल्मी प्रहरीले जनाएको छ। तर प्रहरी घटनास्थलमा पुगिनसकेकाले स्थानीयको भनाईलाई नै आधार मानेको गुल्मी प्रहरी प्रमुख राजेन्द्र सिंह खड्काले जानकारी दिए।
स्थानीयले भने मृतकको शव निकालेको प्रहरीलाई बताएका छन्। २० घर रहेको सो गाउँमा कति ठूलो पहिरो गएको हो भन्ने विवरण प्राप्त हुन सकेको छैन। घटनास्थलमा जानका लागि २ वटा प्रहरी टोली हिडेको र घटनास्थल पुग्न करीब २ घण्टा लाग्ने प्रहरी प्रमुख खड्काले जानकारी दिए।वडा नं ५ का अध्यक्ष हरि ज्ञवालीले घटनास्थलमा आफुहरु जाँदै गरेको र गाउँका मानिसलाई पनि सुरक्षित स्थानमा बस्न भनिसकेको बताए।
'हामीहरु घटनास्थल जाँदैछौं, उनले भने-छोटो बाटोमा पहिरो गएकाले जान सकिएन, अर्को बाटोबाट पैदलै जाँदैछौं, त्यहाँको अवस्थाबारे भन्न सकिँदैन, गाउँ नै जोखिममा छ।'
उनका अनुसार पहिरोले पुरेको घरका राजु माझी भारतमा रोजगारीका लागि गएका छन् भने घरमा उनकी श्रीमती वीना माझी, छोराहरु सागर, हेमन्त र छोरी विनिता माझी थिए। उनीहरु बसेको घर पहिरोसहित आएको ठूलो ढुंगाले च्यापेर बगाएको छ।
घटनाबारे पूरा विवरण आउन बाँकी छ।
गुल्मीका सांसद तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ४ जनाको मृत्यु भएको भन्दै दुख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा उनले उद्धारमा खटिन आह्वान गरेका छन्।