बुटवल-सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-तानसेन सडकखण्डको पाल्पा दोभानमा सडक भासिएको छ। तिनाउ गाउँपालिका वडा नं ३ स्थित दोभान प्रहरी चौकीदेखि १ सय मिटर दक्षिणमा सडक भासिएपछि ठूला गाडी चल्न प्रहरीले रोक लगाएको छ।
सडक भासिएपछि ठूला यातायात चल्न रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख एसएसपि डम्बर बहादुर विश्वकर्माले जानकारी दिए। प्रहरीका अनुसार करिब १२ मिटर सडकमा डेढ फुट चौडाइसम्मको सडक चिरा परेर फाँटेको छ।
तीन दिन अघि सामान्य चिरा परेको सडक शनिबार थप भासिन सुरु गरेको थियो। साना गाडी चलाउन मिल्ने गरी ठाउँ रहेकोले तत्काल साना गाडी मात्रै चलाउने गरी ठूला गाडी चल्न रोक लगाइएको उनले बताए।
बुटवल-तानसेन सडककै तिनाउ–३ झुम्सा पनि झण्डै ३५ मिटर राजमार्ग भासिएको छ।
सडक भासिएपछि बुटवलबाट सोसडक खण्ड भएर जाने गाडी चिडियाखोला र पाल्पातर्फबाट बुटवल आउने ठूला सवारी साधनलाई बर्तुङमा रोकिएको छ।
सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले आइतबार बिहानदेखि वैकल्पिक मार्गको काम हुने र दोहोरो यातायात सञ्चालन गर्नेगरी काम अघि बढाउने जानकारी दिए।
वर्षा सुरु भएपछि बुटवल-तानसेन सडकखण्ड बेला बेलामा अवरुद्ध हुँदै आएको छ।