गुल्मी-गुल्मीमा शुक्रबार राति पहिरोमा परेर ज्यान गुमाएका एकै घरका चार जनाको शनिबार सामूहिक अन्त्येष्टि गरिएको छ। रुरु गाउँपालिका ५ बम्घाको आँटीपाटामा शुक्रबार राति स्थानीय राजु बोटेमाझीको घर माथिबाट पहिरोसँगै खसेको ढुंगाले घर च्याँप्दा तीन जना नाबालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो।
घटनामा वर्ष ३० की बिना बोटेमाझी, उनकी १० महिनाकी छोरी बिनिता, ७ वर्षका सागर बोटेमाझी र ९ वर्षका हेमन्त बोटेमाझीको मृत्यु भएको थियो।
उनीहरुको घटनास्थलमै पोष्टमार्टम गरेपछि सामूहिक रुपमा दाहसंस्कार गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताएका छन्। उक्त ठाउँमा शुक्रबार बेलुकी पाँच बजेदेखि अविरल रुपमा वर्षा भैरहेको थियो।
बेलुकी करिब ८ बजेको समयमा घरमा खाना पकाइरहेको अवस्थामा अचानक घरदेखि करिव दुईसय मिटर माथिबाट खसेको ढुंगाले घर च्याप्दा घरभित्र रहेका चारै जनाको घटनास्थलमै ज्यान गएको हो। मृतक बिना बोटेमाझीका श्रीमान राजु बोटेमाझी भने रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।
पहिरो आएसँगै त्यस वरपरका पाँच घरपरिवार विस्थापित भएका छन्। विस्थापितहरुले स्थानीय आँटिपाटाको जनजागरण प्राविमा आश्रय लिइरहेको र त्यसको व्यवस्थापन स्थानीय पालिकाले गरेको रुरुक्षे गाउँपालिका ५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए।