नेपालगञ्ज-समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखा परेपछि स्थानीय प्रशासनले बाँकेमा निधेषाज्ञा जारी गरेको छ। आज आइतबारदेखि ३ दिनसम्म निधेषाज्ञा जारी रहने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।
उनका अनुसार समुदायमा देखिएको कोरोना भाइरसको संक्रमण अरु नफैलियोस् भनेर निधेषाज्ञा जारी गरिएको हो।
जिल्लास्तरिय कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको आपतकालिन बैठकले आज आइतवारदेखि ३ दिनसम्म बाँके जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निषेधाज्ञाका कारण बाँकेका मुख्य शहरहरु नेपालगञ्ज, कोहलपूर लगायतका क्षेत्र बिहानैदेखि सुनसान छन्।
कुरुम्वाङका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर निस्कन पाइँदैन। प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ।
निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ।
त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउनेछन्।
पछिल्लोपटक सङ्क्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ। कन्टयाक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ।
आन्तरिक राजश्व , यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवनचोकको एक मिठाइ पसल सञ्चालकमा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार नेपालगञ्जका तीन आइसोलेसन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा गरी बाँकेका ५४ सङ्क्रमितलाई राखिएको छ। बाँकेमा हालसम्म कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ भने सङ्क्रमितको सङ्ख्या ४३७ पुगेको छ।