काठमाडौ-वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका एक नेपालीले फेसबुक लाइभ गर्दै आत्महत्या गरेका छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेलटार घर भइ मलेसियामा बस्दै आएका ५१ वर्षीय हेमराज विष्टले आत्महत्या गरेका हुन्।
वैदेशिक रोजगारको क्रममा २० बर्षदेखि मलेसियाको कोलालम्पुरमा बस्दै आएका बिष्टले आफ्नो जन्मदिनको अघिल्लो साँझ ९ मिने १६ सेकेन्डको सामाजिक संजाल(फेसबुक)मा लाइभ गर्दै आत्महत्या गरेका छन्।
उनले लाइभका क्रममा भनेका छन्–‘आज म लाइभ आउनुको कारण भोलि मेरो बर्थडे हो। त्यस्तै बाध्यताका कारण भोलि मेरो अन्तिम दिन पनि हो। धन सम्पत्ति होस नहोस कसैले फुर्ति नगर्दा हुुन्छ। एक दिन जानु जरुरी छ। सम्पत्ति त म संग पनि कहाँ कम छ र ? दुःख गर्दा सम्पत्ति हुँदो रैछ। मलाइ नपुगेर हैन। कसैसंग झगडा भएर पनि हैन। म ५१ बर्षको भएँ। आजका दिनसम्म कहिले सुखका दिन आएन। अनि किन बाच्नु ?’
४७ सय साथी भएको फेसबुकमा उनले भनेका छन्–‘मलाइ बाँच्न मन भएन । म माथि गएर ठाउँ बनाउँदै गर्छु। जाने त दिन निश्चितै छ। यहाँ कसैले अजम्बरी जीवन पाएको छैन। त्यसैले जानैपर्छ।’
आफ्नो कमाइको करिब ११–१२ हजार रिङरेड (मलेसियन मुद्रा) देखाउँदै उनले भनेका छन–‘यो मेरी श्रीमतीले पाउन।’
उनका श्रीमती र दुई छोरा छन्। जेठा छोरा सिभिल ईन्जिनियर हुन भने कान्छा नेपाल प्रहरीमा सेवा गर्छन।
उनको शवलाइ मलेसिया क्वालालम्पुरको एक अस्पतालमा राखिएको छ। आवश्यक प्रक्रियापछि नेपाल ल्याउने तयारी भइरहेको मलेसियामा रहेका उनका आफन्तले बताएका छन्।