दाङ-दाङमा जंगली बँदेल मार्न थापेको करेन्ट लागेर २ दाजुभाइको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १ हर्नौकका १० वर्षका तेजबहादुर रावत र उनका दाजु १४ वर्षका वीर बहादुर रावतको मृत्यु भएको हो।
उनीहरुका बुवा ३७ वर्षका दिलबहादुर रावत घाइते भएका छन्। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। आफ्नै मकैबारीमा बँदेलले मकै खाएर हैरान बनाएपछि उनीहरुले बँदेल मार्नका लागि करेन्ट थापेको दाङका प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए।
उनका अनुसार मकैबारीमा बँदेल परेको छ कि भनेर सोमबार बिहान बाबुछोरा मिलेर हेर्न गएका थिए। गल्तीले करेन्ट छोएपछि उनलाई तान्न गएका दाजु र बाबुलाई करेन्ट लागेको थियो। दाजुभाईको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता खड्काले बताए।