बुटवल-रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन्।
आत्मदाहको प्रयास गरेका युवाको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरले जानकारी दिए।
ती युवाले राति करिब ३ बजे आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेको उनले बताए।
देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना भाइरसको महामारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षागार्डको काम गर्दै आएका थिए।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।