बुटवल-बुटवल उपमहानगरपालिकाको वडा नं ९ र ११ मा पर्ने कालिकापथ विस्तारका क्रममा सडक क्षेत्र मिचेर बनाएका घर भत्काइएको छ।
कालिकापथलाई ८२ फुटको बनाउने क्रममा सडकको क्षेत्राधिकार ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरेपनि अटेर गरेपछि उपमहानगरपालिकाले प्रहरीको सुरक्षा घेरा बनाएर डोजर चलाएको हो। सडक क्षेत्रका अधिकांश घरहरु हटाएपनि केही घरधनीले अटेरी गर्दै आएका थिए।
पटक पटक सडकको क्षेत्राधिकार मिचेका घरहरु भत्काउन आग्रह गर्दा पनि अटेरी गरेपछि उपमहानगरपालिकाले यही साउन १९ गते २४ घण्टाको म्याद दिएको थियो।
उपमहानगरपालिकाले दिएको अन्तिम म्यादसम्म पनि घरधनीले घर नभत्काएपछि प्रहरीको सुरक्षामा डोजर चलाउनुपरेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालसहितले घर भत्काउन अटेरी गरेका थिए।
कालिकापथलाई बुटवल उपमहानगरपालिकाले वैकल्पिक सडकको रुपमा विस्तार गर्ने योजना बनाएको छ।
पूरानो बसपार्कदेखि भित्री सडक योगीकुटीसम्मको कालिका पथ भनिने यो सडकलाई विस्तार गरी २५ मिटर फराकिलो बनाइने छ। यो सडकको विस्तारको कामका लागि प्रदेश ५ सरकारले बजेट व्यवस्था गर्नेछ।
बुटवल उपमहानगरपालिकाले यो सडकलाई नमूना बनाउने जनाएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यो सडक विस्तारको काम सम्पन्न गर्न तीन वर्ष लाग्ने र झण्डै एक अर्ब खर्च हुने उल्लेख छ।
२०५४ सालमै यो सडकलाई ८२ फुट (२५ मिटर) कायम गरी विस्तारको योजना बनाइएको थियो। यद्यपि केही व्यक्तिहरुको अवरोधका कारण सडक मिचिएका संरचना भत्काउन नसक्दा बिस्तार हुन सकेको थिएन। अहिले अधिकांश स्थानीयबासीको साथ पाएपछि मूल सडक जस्तै भित्री सडक पनि स्तरोन्नति गर्न लागिएको हो।