बुटवल-कपिलवस्तुमा एकैदिन २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसमध्ये बैंक तथा वित्तिय संस्थाका १६ जना छन्। योसँगै बैंक तथा बित्तिय संस्थामा समेत कोरोना फैलिएको पुष्टि भएको छ।
नमुना द्रुत परीक्षणका क्रममा जिल्लामा ८ बैंक तथा बित्तिय सस्थामा कोरोनाको संक्रमण देखिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बैंक तथा बित्तिय क्षेत्रका ८ संस्थाका १६ कर्मचारी संक्रमित भएका हुन् । ती सबै बैंकहरु सिल गरिएका छन्।
सदरमुकाम तौलिहवाका ६ बैंकिङ सस्थाका १३ जना, कृष्णनगरका २ बैकिङ सस्थाका ३ कर्मचारीहरु सक्रमित भएका हुन्। मंगलार ३, बुधवार ४ तथा बिहीबार नौ जना बैंकका कर्मचारीहरुमा संक्रमण पुष्टि भएको हो।
बिहीबार ग्लोबल आईएमई बैंकका ३ जना, गुहेश्वरी मर्चेण्ट बैकिङ एण्ड फाइनान्स लि.का ४ जना कर्मचारीमा संक्रमण देखिएको हो। त्यस्तै कृषि विकास बैंकका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको हो। यी तीनै बैंक बिहीबारबाट सिल गरिएको छ।
त्यस्तै मेगा बैंकका थप एक जना कर्मचारीमा बिहीबार पनि संक्रमण पुष्टि भएको छ। मेगा बैंकका एक कर्मचारीमा बुधवार संक्रमण पुष्टि भएसँगै शाखा सिल गरिएको थियो। बैंकका सीमित कर्मचारीको रेन्डम स्वाबको नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए।
‘सम्पर्कमा रहेका कर्मचारीलाई क्वारेन्टिनमा बस्न भनेका छौं’, उनले भने, ‘उनीहरुको आइतबार स्वाब संकलन गरिने कार्यक्रम छ । संक्रमित सबै होम आइसोलेसनमा बसेका छन् । संक्रमण भेटिएका ५ वटै बैंकका शाखा सिल गरिएको मैगा बैंक तौलिहवा शाखाका प्रबन्धक राजेज्द्र शर्माले बताए।
‘लोन, क्यास र ऋण शाखामा काम गर्ने कर्मचारी संक्रमित भएका छन्,’ उनले भने, ‘सेवाग्राहीको सुरक्षाका लागि सबै सेवा बन्द गरेका हौं।’ अब उक्त बैंकका सबैं कर्मचारीको पीसीआर परीक्षण गराएर अवस्था सामान्य नभएसम्म सेवा बन्द हुने उनले बताए।
समुदायस्तरमा कोरोना संक्रमणको अवस्था थाहा लगाउन नमुना परीक्षणका लागि स्वाब संकलन गर्दा बैंकका कर्मचारीमा संक्रमण देखिएको हो। सदरमुकाम तौलिहवाका एनआईसी, प्रभु र एभरेष्ट बैंकका कर्मचारीमा गरिएको नमुना परीक्षणको रिपोर्ट अझै आएको छैन । यस अघि ढेड महिना अघि राष्ट्रिय बाणिज्य बैक तौलिहवा शाखाका म्यानेजर कोरोना संक्रमित भएका थिए।