बुटवल-रुपन्देहीको देवदहमा कोरोना संक्रमित बैंकका कर्मचारीको सम्पर्कमा आएका २५ जना मध्ये २४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।
एक जनाको नतिजा आउन बाँकी छ। देवदह खैरेनी बजारमा रहेको गरिमा विकास बैंकका कर्मचारीमा मंगलबार कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका २५ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गरिएको थियो।
परिक्षणको क्रममा संक्रमितको श्रीमती र छोरा सहित २४ जनाको रिपोर्ट नेगेटिभ आएको देवदह नगरपालिकाका जनस्वास्थ्य अधिकृत काशीनाथ बन्जाडेले बताए।
बैंक कर्मचारीलाई संक्रमण देखिएपछि ४ दिनदेखि देवदह नगरपालिकामा लकडाउन गरिएको छ। अब समुदायस्तरमा नमूना परीक्षण गर्ने र त्यसको रिपोर्टको आधारमा लकडाउन जारी राख्ने वा खुकुलो गर्ने भन्ने निर्णय गर्ने देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले जानकारी दिए।
उनका अनुसार देवदहका ग्राहकको बढी आवत जावत हुने विभिन्न पसल तथा ठाउँमा ५० जनाको स्वाब संकलन गरिने छ।