काठमाडौं। हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ। हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ। त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ।
आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन्। पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन्।
सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन्। सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गरेपछि आरोहण सुरु हुन्छ।
वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन्। उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन्।
जुन सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो। सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताउनुभयो।
नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन्।
सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ। कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ।
सन् २००७ देखि पर्यटन विभागको सम्पर्क अधिकृत भएर काम गर्नुभएका ज्ञानेन्द्र श्रेष्ठले आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको बताउनुभयो।
इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको छ। सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले बाटो बनाएको थियो। दोस्रो शिविदेखि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ।
इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाका अनुसार अहिले सगरमाथाको चौँथो शिविरसम्म बाटो बनिसकेको छ। पछिल्लो तीन दिनदेखि सगरमाथा क्षेत्रमा मौसम खराबीले बाक्लो हिउँ परिरहेकाले आरोहण अघि बढ्न सकेको छैन।
आइसफल डाक्टर सगरमाथाको दोस्रो शिविरमा आराम गरिरहेका छन्। मौसम अनुकुल हुने वित्तिकै चुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताउनुभयो। साउथ कोलबाट चुुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उहाँको भनाइ छ।