पाल्पा–जितगढी किल्लाबाट अंग्रेजसँगको युद्ध लँडेर जित हासिल गरेको खुशीयालीमा पाल्पाको तानसेनस्थित भगवती मन्दिरमा मनाइने जात्रा यसपटक खल्लो रह्यो।
न धुमधामको कार्यक्रम, न उपस्थिति नै। कोरोना भाइरस संक्रमणको त्रासका कारण पाल्पाको ऐतिहासिक भगवती जात्रा मनाइएन। मन्दिर परिसरमै सीमित गरिएको छ भने रथसमेत बाहिर निकालिएन। यसवर्ष २०२ औं रथयात्रा हो। क्षमापूजा गरेर रथ भित्रै नै राखिएको छ।
कोरोना भाइरस संक्रमणको त्रासले गर्दा यस पटक रथयात्रा रोकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताए।
जिल्ला स्तरीय बैठकको निर्णय यस वर्षका सबै जात्राहरु औपचारिकतामा मात्रै समित भएका छन्।
मन्दिरभित्रै पूजा गर्ने र मन्दिरलाई घुमाएर भित्रै राख्ने गरिएको छ। पश्चिम नेपालकै मुख्य जात्राका रुपमा भगवतीको रथयात्रालाई लिइन्छ। अघिल्लो यसवर्षदेखि प्रदेश ५ सरकारले बिदा दिएको थियो।
मुख्यमन्त्री शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै शुभकामना दिएका थिए। तानसेन नगरपालिका, माथागढी गाउँपालिका लगायतले पनि विज्ञप्ति जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पाल्पाले पनि बिदाको घोषणा गरेको छ।
पाल्पाको मात्रै नभएर नेपाल–अंग्रेज युद्धमा जितगढी युद्ध जितेको सम्झनामा भगवतीको रथयात्रा गरिदै आएको छ।