बुटवल-बुटवल उपमहानगर क्षेत्रभित्र आज बिहीबार रातीदेखि भदौ ५ गतेसम्म पूर्ण लकडाउन हुदै छ। यो निर्णय आज बिहीबार राती ११:४५ बजेदेखि भदौ ५ गते ११:४५ बजेसम्म लागू हुनेछ।
बुटवल उपमहानगरको बैठकले भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
उनका अनुसार बुटवल भित्रका खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै खुल्न पाउनेछन्। दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन्।
सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ। तरकारी बोक्ने गाडीहरु पनि परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाइनेछ। होटल तथा रेष्टुरेन्टहरु पनि बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ।
मालसामान ढुवानी गर्नेहरुलाई भने उपमहानगरपालिकाले सुरक्षा सतर्कता अपनाएर काम जारी राख्न भनेको छ।