सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिपीमा पहिरोले १३ वटा घर पुरेको छ। जुगल गाउँपालिका वडा नम्बर २ लिपीमा बिहान झरेको पहिरोले १३ घर पुरिएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए।
उनका अनुसार १३ घरमध्ये ५ घरका परिवार सम्पर्कविहीन भएका छन्। अरु १५ जना सामान्य घाइते भएको उनले बताए। पहिरोले घर पुरेपछि प्रभावितहरु नजिकैको सुरक्षित ठाउँमा बसेका छन्।
पहिरोका कारण ३० घरहरु जोखिममा रहेका छन्। अहिले उद्धारको काम सुरु भएको छ। हेलिकप्टर तथा प्रहरीको टोली बोलाएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। घटनाबारे पूरा विवरण आउन बाँकी छ।