काठमाडौं। मनसुन सुरु भएको एक हप्ताभित्रै बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । राष्ट्रिय विपद् जोखिम् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार देशको पूर्वी जिल्ला पाँचथर, ताप्लेजुङ् र संखुवासभामा शनिवार र आइतबार आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या आठ पुगेको हो । छ जना घाइते छन् ।
बाढी र पहिरोमा परी पाँचथरमा तीन, ताप्लेजुङ्मा तीन र संखुवासभामा दुई जनाको मृत्यु भएको छ । यस्तै पाँचथरमा एक, ताप्लेजुङ्मा दुई र संखुवासभामा तीन जना घाइते भएका छन् ।
बेपत्ता २७ मध्ये पाँचथरमा तीन, ताप्लेजुङ्मा तीन र संखुवासभामा २१ जना रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस्तै, ३८ घरमा पूर्णरुपमा क्षति पुगेको छ । जसमध्ये पाँचथरमा नौ, ताप्लेजुङ्मा ११ र संखुवासभामा १८ घरमा पूर्णरुपले क्षति पुगेको छ ।
कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार चार वटा मोटरेवल पुल र ६ वटा झोलुङ्गे पुलमा पूर्णरुपले क्षति र चार वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ । मन्त्रालयका प्रवक्ता रेवतीरमण पराजुलीका अनुसार बाढी र पहिरोका कारण भौतिक पूर्वाधारमा भएको क्षतिको वास्तविक विवरण आउन बाँकी छ ।
उहाँले भन्नुभयो, “शनिवार र आइतबार आएको बाढी र पहिरोका कारण मानवीय साथै पूर्वाधारमा पनि क्षति भएको छ । क्षतिको वास्तविक विवरण आउन बाँकी रहेको भए पनि प्रारम्भिक जानकारीअनुसार चार मोटरेबल पुल, छ वटा झोलुङ्गे पुलमा पूर्णरुपमा क्षति पुगेको देखिएको छ । पाँच वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ ।”
यस्तै, केही जलविद्युत आयोजनामा पनि क्षति भएको भन्ने खबर आए पनि के–कति क्षति भएको हो भन्ने वास्तविक विवरण भने नआएको उहाँको भनाइ छ ।