भैरहवा–कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवाले पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ।
नगरपालिकाको शुक्रबार बसेको बैठकले साउन ३१ गते राति १२ बजेदेखि भदौं ५ गते राति १२ बजेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो।
लकडाउनको अवधिमा स्वास्थ्य सेवा, दमकल, सरसफाई, खानेपानी र अन्य अतिआवश्यक सेवाहरु मात्र सञ्चालन हुने निर्णयमा उल्लेख छ।
लकडाउनका समय खाद्यान्न, तरकारी फलफूल, दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण सामाजिक दुरी कायम गरी बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मा खुला राख्न अनुमति दिने निर्णय नगरपालिकाले गरेको छ।
औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्न भने नगरपालिकाले अनुमति दिएको छ।
सिद्धार्थ राजमार्ग हुदै अन्यत्र जाने सवारीसाधनहरु नगर क्षेत्रमा यात्रु चढाउन, ओराल्न र रोक्न नपाईने गरी सञ्चालनको अनुमति दिने नगरप्रमुख हरिप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
साथै खाद्यजन्य पदार्थ लोड अनलोड गर्ने ढुवानीका साधनले सुरक्षा सावधानी अपनाई सुरक्षाकर्मीको रोहवरमा बेलुका ७ बजेदेखि राती ११ बजेसम्म मात्र काम गर्न पाउने नगरपालिकाले जनाएकोे छ।
नगरका सरकारी कार्यालयहरु सम्बन्धित कार्यालय प्रमुखले अत्यावश्यक सेवाका लागि मात्र आवश्यक कर्मचारी उपस्थित गराई व्यवस्थापन गर्नसक्ने नगरपालिकाको निर्णयमा उल्लेख छ।
नगर क्षेत्रमा ठेला, साइकलजस्ता साधन प्रयोग गरी कुनै व्यापार गर्न पाइनेछैन। फुटपाथ, सडकपेटी, मायादेवी बजार लगायतका हाटबजारमा कुनै पनि वस्तु वा सेवा बिक्री गर्न पाइनेछैन।
नेपाल सरकारले सञ्चालन गर्न नपाइने भनी रोक लगाएका क्रियाकलाप सञ्चालन गर्न नपाइने र लकडाउनको समयमा सिद्धार्थनगर आउनु पर्ने र जानुपर्ने व्यक्तिले समयअघि नै छोडिसक्नु पर्ने सूचनामा उल्लेख छ।