बुटवल-बुटवल उपमहानगरपालिकाका ३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरका अत्यावश्यक शाखाबाहेकका सबै सेवा बन्द गरेको छ।
उपमहानगरले स्वास्थ्य, सरसफाइ र दमकल सेवाबाहेकका सबै शाखाहरु बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए।
कर्मचारीमा संक्रमण देखिएपछि उपमहानगरपालिकाको कार्यालयमा प्रवेश निषेध समेत गरिएको छ।
उपमहानगरपालिकाले बैंक तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले आइतबार देखि लागू हुने गरी बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईन बाहेकका सबै सेवाहरु बन्द गर्न निर्देशन दिएको छ।
बैंक तथा वित्तिय संस्थाहरुका सेवा बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत शर्माले जानकारी दिए।
बुटवल उपमहानगरपालिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ।
