बुटवल-कोरोना भाइरसको संक्रमण बढेसँगै मुलुकका विभिन्न जिल्लामा कहीँ पूर्ण र कहीँ आंशिक निषेधाज्ञा जारी छ।
स्थानीय प्रशासनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लाहरुमा कोरोना संक्रमितको अवस्था हेरी पूर्णदेखि आंशिक निषेधाज्ञा जारी गरेका छन्।
गृहमन्त्रालयको तथ्यांकअनुसार हालसम्म पूर्ण र आंशिक गरी ४८ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। कोरोना महामारी नियन्त्रणका लागि देशभर ३५ जिल्लामा पूर्ण र १३ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको हो।
सरकारले गत साउन ६ गतेबाट देशब्यापी लकडाउन हटाएपनि कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले आवश्यकता हेरेर निषेधाज्ञा जारी गरेका हुन्।
प्रदेश ५ का रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी पश्चिम, अर्घाखाँची, गुल्मी, प्युठान र बर्दियामा निषेधाज्ञा लगाइएको छ। दाङ, बाँके, रोल्पा र रुकुम पूर्वमा भने निषेधाज्ञा लगाइएको छैन। दाङमा सोमबारसम्म रातीमा आवतजावतमा रोक लगाइएको छ। बाँकेमा साउन ३२ गतेदेखि बजार र यातायात चलेका छन्।
निषेधाज्ञा लगाइएका जिल्लाहरुमा सार्वजनिक सवारी, बजार खोल्न र अत्यावश्यकबाहेकमा सर्वसाधारणलाई हिडडुल गर्न पनि रोक लगाइएको छ।
यीमध्ये रुपन्देहीमा भदौ १४ गतेसम्म, प्युठान र कपिलवस्तुमा भदौ १५ गतेसम्म, नवलपरासी पश्चिम र अर्घाखाँचीमा भदौ १० गतेसम्म र गुल्मीमा भदौ १२ गतेसम्म निषेधाज्ञा जारी रहनेछ। बर्दियामा भने भदौ ६ गतेदेखि अनिश्चितकालसम्मका लागि भनिएको छ।
यस्तै मुलुकका अरु जिल्लाहरु सप्तरी, धनुषा, नुवाकोट, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, जुम्ला, ललितपुर, भक्तपुर, काठमाडौं, रौतहट, मकवानपुर, धादिङ, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, चितवन, दोलखा, सिन्धुपाल्चोक, बागलुङ, गोरखा, कास्की, सिराहा, मोरङ, दार्चुला, झापा, मोरङ, दार्चुला, स्याङ्जा, रामेछाप, कैलाली,दैलेख, कन्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, बैतडी, जाजरकोट र रुकुम पश्चिममा पूर्ण र आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयले जनाएको छ।