भैरहवा–एकजना दुर्घटनाका घाइतेमा कोरोना भाइरसको संक्रमण देखिएपछि आवश्यक उपचार नपाएर मृत्यु भएको छ।
रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय पुरुष गत मंगलबार छतबाट खसेर गम्भीर घाइते भएका थिए। उनको टाउकोको नशामा समस्या देखिएकोले टाउकोको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुले आफन्तलाई बताएका थिए।
उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएका उनलाई भर्ना गरेर शल्यक्रिया गर्नुअघि पीसीआर जाँच गरिएको थियो।
पीसीआर रिपोर्ट पोजेटिभ आएपछि थप उपचार जारी राख्नुपर्नेमा उनलाई मेडिकल कलेजले उपचार गर्न नसक्ने बताउँदै भैरहवाकै भीम अस्पताल पठाएको थियो।
भीम अस्पतालमा उपचारका लागि जनशक्ति नभएकाले उपचार हुन नसक्ने बताएपनि आफन्तले जोडबल गरेपछि अस्पतालले भर्ना लिएर उपचारका क्रममा सोमबार राती मृत्यु भएको हो।
ती पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदार शाहले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको आइसिययुमा उपचाररत एक पुरुषको सोमबार राती ११ बजे भीम अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।
टाउकोमा गम्भीर चोट लागेको बिरामी भएकोले मेडिकल कलेजको आइसीयुबाट उपचारका लागि सोमबार साँझ आफन्तले भीम अस्पताल ल्याएको भीम अस्पतालका कोभिड–१९ फोकल पर्सन सुमित प्रजापतिले जानकारी दिए।
‘हामीसँग आइसियु भएपनि जनशक्ति छैन भनि परिवारलाई जानकारी गरायौं, अवस्था गम्भिर छ, हेड इन्जुरीको बिरामी भएकोले हाइ रिक्स हुन्छ भनेरै कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै राती ११ बजे मृत्यु भयो–प्रजापतिले लुम्बिनी टाइम्ससँग भने।
मेडिकल कलेजमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको थियो। बिहीबार स्वाब संकलन गरिएकोमा उनमा शुक्रबार कोभिड–१९ संक्रमण पुष्टि भएको थियो। यसबारे मेडिकल कलेजका अधिकारीसँग प्रतिक्रिया र घटनाक्रमबारे जानकारी लिने प्रयास गरेपनि सम्पर्क हुन सकेन।
मृतकको शव अहिले भीम अस्पतालमा छ। शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको शाहले बताए।