काठमाडौं-मंगलबार दिनभरजसो सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको भन्दै कुलमान घिसिङलाई बधाई र सरकारलाई धन्यवाद दिएका स्टाटस र ट्वीटहरु देखिए।
धेरैलाई लाग्यो-नेपालमा लोडसेडिङको छुट्टी गराउने कुलमानको छुट्टी भएन। उनलाई सरकारले पुन: सोही पदमा थाती राखेको र नेपालमा लोडसेडिङको झन्झट र सास्ती बेहोर्न नपर्ने खुशीयाली पनि मनाए।
तर के साँच्चै कुलमानलाई सरकारले पुन: कार्यकारी निर्देशकमा नियुक्ति गरेको हो ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ। उनी आउनुअघि देशमा दैनिक १८ घण्टासम्म लोडसेडिङ थियो। उनी प्राधिकरणको नेतृत्वमा आएसँगै मुलुक लोडसेडिङमुक्त भयो।
सोही कारणले धेरैले माग गरे उनलाई फेरि नियुक्ति गरिनुपर्छ।
तर सरकारले यो विषयमा अहिलेसम्म छलफल गरिसकेको छैन। उनलाई निरन्तरता दिनेबारे ऊर्जा मन्त्रालयबाट मन्त्रिपरिषदमा कुनै प्रस्ताव गएको छैन।
ऊर्जामन्त्री वर्षमान पुन नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव मन्त्रिपरिषदमा नगएको बताउँछन्।
मन्त्रिपरिषदको मंगलबारको बैठकमा पनि यसबारे कुनै छलफल भएन। त्यसैले घिसिङलाई नियुक्ति गरेको भनेर भएको चर्चा सत्य होइन।