झापा-सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ। झापा गाउँपालिका ३ कामाटोलीका रमिकुल आलमको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए।
उनको गम्भीर अवस्थामा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्थानीयबासीले गाई काटेको विषयमा केही स्थानीयबासीलाई प्रहरीले पक्राउ गरेपछि विवाद बढ्दै जाँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो। सोही गोली लागेर घाइते भएका आलमको मृत्यु भएको हो। आलमको पेटमा गोली लागेको थियो।
स्थानीयले गाई काटेको विषयमा विवाद भएपछि झापा गाउँपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको थियो।
स्थानीयबासीले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले फायर खोलेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।
गाई काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई सदरमुकाममा लैजान खोजेपछि स्थानीयबासीले प्रहरीमाथि आक्रमण गरेका थिए।