बुटवल–विश्वव्यापी कोरोना महामारीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ। लकडाउन र निषेधाज्ञाका कारण विश्वको आधाभन्दा बढी जनसंख्या घरभित्रै सीमित छ।
तर कोरोना संक्रमणको महामारीका बीच पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत अत्यावश्यक सेवामा खट्नेहरुलाई भने फुर्सद छैन।
अझ भनौं, जोखिम मोलेर सामान्य अवस्थामा भन्दा बढी समय खट्नु परेको छ। सुरक्षा निकायका काँधमा अपराध नियन्त्रण र शान्ति सुरक्षाको जिम्मा त छँदै छ। त्यसबाहेक कोरोना विरुद्ध पनि सुरक्षाकर्मी खटिइरहेका छन्।
निषेधाज्ञा र लकडाउनको अवधिमा सडकमा खटेर चेकजाँच गर्दा होस् वा आइसोलेसन तथा क्वारेन्टिनको सुरक्षामा नेपाल प्रहरी, शसस्त्र प्रहरी निरन्तर खटिएका छन्।
त्यसै गरी कोरोना संक्रमणबाट मृत्यू भएकाहरुको सव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले गर्दै आएको छ। कोरोना विरुद्ध खटिने क्रममा थुप्रै सुरक्षाकर्मीहरु संक्रमित समेत भएका छन्।
शंकास्पद संक्रमितको पहिचान, स्वाब संकलन र संक्रमितको उपचार गर्ने काममा खटिने स्वास्थ्यकर्मीहरु पनि उत्तिकै जोखिममा छन्।
कोरोना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले मात्र होइन, स्वाब संकलनकर्ता, स्वाब परीक्षण गर्नेहरुले पनि जोखिम मोलेर काम गरिरहेका छन्। संक्रमित बोक्ने एम्बुलेन्स चालक, स्थानीय स्तरका आइसोलेसन, क्वारेन्टिनहरुमा पनि स्वास्थ्यकर्मीहरु पनि निरन्तर कोरोना विरुद्धको जिम्मेवारी निर्वाह गरिरहेका छन्। प्रत्येक स्थानीय तहमा स्वास्थ्य संयोजकको नेतृत्वमा टीम परिचालित छ।
तर, यसरी ज्यानकै जोखिम मोलेर खटिनेहरुको कुनै लेखाजोखा छैन। प्रदेशमा कोरोना विरुद्ध यसरी खट्नेहरुको तथ्यांक कति छ ?
यसको विवरण प्रदेश ५ सरकार, सम्बन्धित मन्त्रालय र सरकारी कार्यालयहरुमा छैन।
प्रदेश सरकार र मातहतका निकायहरुले यसको व्यवस्थित तथ्यांक नै राखेका छैनन्। यसबारे सरकारी निकायहरुमा सम्पर्क गर्दा एकले अर्को निकायलाई देखाउने, अर्कोले तथ्यांक अझै तयार भइसकेको छैन भनेर टार्छन्।
प्रदेश ५ मा कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन, नियमन र अनुगमनका लागि मुख्यमन्त्री शंकर पोखरेलकै नेतृत्वमा टीम बनेको छ। जसले प्रदेशभरको कोरोना भाइरसको अवस्था विश्लेषण गरेर आगामी रणनीति तयार गर्ने र त्यसअनुसार काम गर्ने जिम्मेवारी लिएको थियो।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा २०७६ चैत २९ गते बसेको बैठकले यसबारे प्रदेशको समग्र अवस्थाको विश्लेषण गर्ने भनेर निर्णय गरेको छ। त्यसयता पनि भएका बैठकहरुले कोरोना भाइरसको संक्रमण रोक्न प्रदेश सरकारदेखि स्थानीय तहहरुले खेल्ने भूमिकाबारे निर्णय भएका छन्।
तर कोरोनाविरुद्ध खटिने जनशक्तिको लेखाजोखा छैन।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि योजना बनाउन र योजना बनिसकेपछि कार्यान्वयनको पाटोबारे समीक्षा गर्न हरेक तहका सरकारलाई तथ्यांकको आवश्यक हुनुपर्ने हो।
त्यसैअनुसार उनीहरुलाई के कस्ता सुरक्षाका सामग्री, उपकरण, सुरक्षा भत्तालगायतका विषयमा निर्णय गर्न सहज हुने थियो। खटिएको जनशक्तिका आधारमा संक्रमण थप बढ्दै गए वा घट्दै गए कति जनशक्ति परिचालन गर्ने भन्ने निर्क्योल गर्न सजिलो हुन्छ।
तर, प्रदेशको मुख्यमन्त्री कार्यालयमा कोरोना विरुद्ध खट्ने जनशक्तिको बारेमा जानकारी माग्दा आन्तरिक मामिला मन्त्रालयमा सम्पर्क गर्न भनियो ।
त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोरोना विरुद्ध खटेको आधिकारीक तथ्यांक त परै जाओस अनुमानित विवरण पनि पाउन सकिएन। मन्त्रालयका प्रवक्ता माधवराज मरासिनीले यो बेला कोरोनाको विरुद्ध खट्ने जनशक्तिको त्यसरी एकमुष्ट तथ्यांक नभएको बताए।
सामाजिक विकास मन्त्रालयमा पनि कोरोना विरुद्ध खट्ने स्वास्थ्यकर्मीको तथ्यांक छैन। मन्त्रालयका स्वास्थ्य महाशाखाका डा. पुष्पराज पौडेलले यकिन तथ्यांक दिन नसकिने बताए। ‘त्यसरी तथ्यांक दिन गाह्रो छ, १२ सय जति स्वास्थ्यकर्मी हुनुहुन्छ, कुनै न कुनै रुपमा खटिनुभएको छ–उनले भने–विशेष गरेर कोरोनाकै लागि भनेर कति खटिनुभएको छ भनेर निकाल्न दुई चार दिन लाग्ला।’