बुटवल-प्रदेश ५ मा १७ जना कोरोना भाइरसका संक्रमितको आइसीयूमा उपचार भैरहेको छ।
प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्पतालमा १६ जना र दाङको राप्ती प्रादेशिक अस्पतालको बेलझुण्डीस्थित अस्पतालमा १ जनाको आइसीयूमा उपचार भैरहेको हो। यस्तै २ जनाको गम्भीर अवस्थामा बुटवलकै कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा उपचारी जारी छ।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयको दैनिक अपडेटमा मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले दिएको जानकारी अनुसार प्रदेश ५ मा १ हजार ४१७ जना संक्रमित आइसोलेशन र अस्पतालहरुमा उपचाररत रहेका छन्।
तीमध्ये १३७ आइसोलेशनमा १ हजार १९३ जना रहेका छन् भने १०८ जना संक्रमित क्वारेन्टिनमा रहेका छन्। उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भएको उनले बताए।
प्रदेश ५ मा ११० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। प्रदेश ५ मा परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुनेको दर ६ प्रतिशत र निको हुने दर ७७ प्रतिशत रहेको र मृत्युदर ०.४५ प्रतिशत रहेको उनले बताए।
प्रदेश ५ मा आइतबारसम्म २९ जना संक्रमितको मृत्यु भएको छ भने ४ हजार ८३८ जना निको भएर घर फर्किएका छन्। आइतबार दिउसोसम्म प्रदेश ५ मा ४८ जना संक्रमित थपिएको पौडेलले बताए।