भैरहवा–कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको अवधि पुन: थप गरेको छ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला स्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीले जिल्लाभर भदौ २० गते राती १२ बजेसम्म लागि ‘लकडाउन’ गर्ने निर्णय गरेकोे हो।
भदौ ७ गते भएको जिल्लास्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र सिसिएमसीको बैठकले १४ गते सम्मका लागि जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको थियो।
आज बसेको डिसीसीएमसी बैठकले पूर्वनिर्णयहरुको समीक्षा गर्दै सोमबारदेखि लकडाउनलाई थप गर्ने, अनावश्यक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नदिने, सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउने गरी आदेश जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिश गरेको थियो।
संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्लाभर लकडाउन थप गर्ने निर्णय भएको छ। हालको अवस्थालाई मध्यनजर गर्दै जोखिम कायम नै रहेकाले लकडाउनको समयावधि थप गरिएको केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए। ‘संक्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनमा सहयोग पुग्ने भएकोले निरन्तरता दिएको हो’–उनले भने।
अत्यावश्यक सेवालाई निरन्तरता दिदै रुपन्देही जिल्लाभरि लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषदको २०७७ भदौ १ गतेको निर्णय समेतका आधारमा संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम भदौ १४ गते राती १२ बजे सम्म गतिविधि गर्न निषेध गर्ने गरी आदेश जारी गरिएकोमा उक्त आदेशलाई डिसीसीइमसीको सिफरिस र जिल्ला सुरक्षा समिति रुपन्देहीको भदौ १४ को निर्णय बमोजिम भदौ २० गते राती १२ बजे सम्मका लागि निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुध तथा डेरीजन्य पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ४ः३० बजेदेखि ६ः३० बजेसम्म सञ्चालन गर्न दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सहज आपूर्तिमा अवरोध गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने लगायतको निर्णय निरन्तरता हुने जनाइएको छ।
कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने आदेशमा उल्लेख छ।
