दाङ-समुदाय स्तरमा काेराेना संक्रमण देखिन थालेपछि कोरोना संक्रमण रोकथामका लागि दाङमा एक हप्ता निषेधाज्ञा गरिएको छ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति दाङको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेकाे थियाे।
साेही निर्णय अनुसार निषेधाज्ञा गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
निषेधाज्ञाका क्रममा जिल्लाभर सार्वजनिक यातायात, वजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि गतिविधि गर्न पाइने छैन।
यसैगरी होटेल, रेष्टुराँ, खाजा घर, सरकारी राजश्व संकलन गर्ने अनुमति प्राप्त बैक तथा वित्तिय संस्थाहरुबाहेक सबै बैंकिङ सेवा बन्द गरिनेछ।
अत्यावस्यकीय सरकारी कार्यालयहरु सञ्चालन गर्ने र थोरै कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गरिने प्रजिअ रिजालले जानकारी दिए।
बैठकले २१ गतेपछि पनि जिल्लाको अवस्था विश्लेषण गरी जिल्ला प्रशासन कार्यालय दाङले निशेधाज्ञा थप एक हप्ता बढाउनसक्ने निर्णय गरेको हो।
यो अवधिमा कोरोना संक्रमण फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहले समन्वय गरी परीक्षणको दायरा बढाइने भएको छ।