काठमाडौं-सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति काठमाडौँ उपत्यकामा २००० शय्याको बेग्लै स्थान (क्वारेन्टिन) शीघ्रातिशीघ्र निर्माण गर्ने निर्णय गरेको छ।
कोरोनाका शङ्कास्पद बिरामी र स्वदेश विदेशको यात्रा गरेका विशेष ध्यानदिनुपर्ने व्यक्तिलाई बेग्लै राखेर निगरानी तथा उपचारको व्यवस्था गर्ने उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्राललाई दिइएको छ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले वर्तमान परिस्थितिलाई दृष्टिगत गरी चाँडोभन्दा चाँडो निर्माण पूरा गर्न उक्त मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको छ।
मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यही भदौ ३० गतेपछि बहराइनका राजकुमारसहित १५ जना उक्त देशका नागरिक र तीनजना बेलायती गरी १८ जनाको टोलीलाई लोबुचे र मनास्लु हिमाल आरोहणको अनुमति दिइएको बताए। “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नेगरी उक्त टोलीलाई विशेष विमान (चार्टर फ्लाइट)बाट नेपाल आउन अनुमति दिइएको छ,” उनले भने।
संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरुपमा १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौँबाटै प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए।
सरकारले श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने तथा सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानामगरलाई क्रमशः ल्हासा र हङकङमा नेपाली महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको उनले जानकारी दिए। यसैगरी नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा गरिएको छ भने सहायक रथी अरुणकुमार पालको राजीनमा स्वीकृत भएको छ। रासस