भैरहवा–रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरवाका एकै घरका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उपचारको क्रममा मृत्यु भएका ५३ वर्षीय पुरुषको अन्त्येष्टिको क्रममा कोरोना पोजिटिभ देखिएको थियो।
मृत्यु पछि र अन्तिम संस्कारमा नजिकै र सम्पर्कमा रहेका ७३ जनाको पिसीआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको हो।
१० जना परिवारका सदस्य र चालकसहित ५ जना घरका कामदारमा कोरोना पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनेवास चौधरीले जानकारी दिए। लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट सोमबार राती आएको थियो।
‘मलामी गएका परिवारका सदस्य सहित २२ सदस्यहरुको ९ गते र ११ गते विभिन्न ४ ठाउँमा ५१ जनाको स्वाब संकलन गरेका थियौं, जसमध्ये अहिले सम्म १५ जनामा संक्रमण रहेको पुष्टि भएको छ, केही रिर्पोट आउन बाँकी छ’–स्वास्थ्य प्रमुख चौधरीले भने।
१३ वर्ष देखि ६९ वर्ष उमेर समूहका ८ पुरुष र ७ महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले बताए ।
गाउँपालिकाद्वारा चैनपुर शिल
रोहिणी गाउँपलिकाले चैनपुर गाउँ शिल गरेको छ। धकधई बजारदेखि उत्तर चैनपुरटोलमा कोरोना भाइरस समुदायमा फैलिएका कारण नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै ५ दिनको लागि पूर्ण रुपमा निषेधित गरिएको छ।
गाउँमा एकै परिवारका १० जनामा संक्रमण देखिएपछि चैनपुरटोललाई भदौ १५ गते देखि भदौ २० गते राति १२ बजेसम्म निषेधित क्षेत्र कायम गरिएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए।
निषेधित अवधिभर कोही व्यक्ति आफ्नो घरबाट बाहिर ननिस्कन, अरुको घरमा प्रवेश नगर्न र सामाजिक दुरी कायम गरी अलग अलग सुरक्षित साथ बस्न समेत गाउँपालिकाले सूचना जारी गरी अनुरोध गरेको छ।
सूचनामा भदौ ६ गते पछि चैनपुर टोलमा जाने आउने गरेका तथा सम्पर्कमा रहेका व्यक्तिहरुलाई होम क्वारेन्टिनमा बस्न र केही समस्या परे गाउँपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ। सूचना उल्लंघन गरेमा संक्रामक ऐन अनुसार कारबाही हुने समेत गाउँपालिकाले जनाएको छ।