भैरहवा–रुपन्देहीको रोहिणी गाउँपालिका क्षेत्रमा शनिबार मात्रै २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका ११ महिला र १४ पुरुषमा संक्रमण देखिएको हो।
९ गते गरिएको कन्ट्याक्ट ट्रेसिङमा संक्रमितको ४ परिवार परेका थिए। उनीहरुको सम्पर्कमा रहेका ५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा २५ जनामा कोरोना पोजिटिभ देखिएको रोहिणीका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले जानकारी दिए।
‘अन्तिम संस्कारको समयमा संक्रमण पुष्टि भएका ५३ वर्षीय पुरुषको सम्पर्कमा रहेका २० जना, संक्रमित गाउँपालिका उपाध्यक्षको सम्पर्कमा रहेका १२ जना र अन्य संक्रमित दुई परिवारको सम्पर्कमा रहेका १८ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएका थियौं, आज २५ जनामा संक्रमण भएको रिर्पोट आएको हो’–स्वास्थ्य शाखा प्रमुख चौधरीले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
संक्रमितमध्ये एक जना अस्पतालमा उपचार गरेर डिस्चार्ज भई होम आइशोलेशनमा बसेका छन् भने बाकी सबै संक्रमित पनि होम आइशोलेशनमा रहेको उनले बताए।
गाउँपालिका कार्यालयका अनुसार हाल सम्म पिसीआर परीक्षणका लागि ३१२ जनाको स्वाब संकलन भएकोमा ५३ जनामा पोजिटिभ रहेको पुष्टि भएको छ। ३७ जनाको परिक्षण पक्रियामा रहेको छ भने १ जना संक्रमितको मृत्यु भएको छ।
समुदायस्तरमा संक्रमण फैलिएकाले कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दिई सम्पर्क व्यक्तिहरुलाई खोज पड्ताल गरी परिक्षणको दायरामा ल्याउने काम भइरहेको छ। सबै संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र कुनै पनि समस्या भए जानकारी गराउन समेत कार्यालयले अनुरोध गरेको छ।
सोमबार मृतकको सम्पर्कमा रहेका १५ जनामा कोरोना संक्रमण देखिएपछि चैनपुर टोल शिल गरिएको थियो। गाउँपालिकाले चैनपुरटोललाई भदौ १५ गते देखि भदौ २० गते राति १२ बजेसम्म निषेधित क्षेत्र कायम गरी शिल गरेको थियो।
वडा कार्यालय र स्वास्थ्य चौकी शिल
कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रोहिणीको दुई कार्यालय शिल गरिएको छ। शनिबार दिउसो कर्मचारीमा संक्रमण भएको पुष्टि हुनासाथ रोहिणी गाउँपालिका वडा नम्बर २ को कार्यालय र बगहा स्वास्थ्य चौकी शिल गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।
संक्रमितहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको परीक्षण गर्दा वडा नम्बर २ कार्यालयको वडा अध्यक्ष, सोही कार्यालयका पशु सहायक र बगहा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहायकमा संक्रमण पुष्टि भएको थियो। वडा अध्यक्ष अहिले काठमाडौ आइशोलेशनमा छन् भने पशु शाखा सहायक र कार्यालय सहायक होम आइशोलेशनमा छन्।
‘स्वास्थ्य चौकीको प्रसुति कक्षमा रहेको बिरामीलाई अन्यत्र व्यवस्थापन गरी शनिबार दिउसोबाट नै शिल गरेका छौ, कार्यालयलाई स्यानेटाइज गरी चाडै नै सेवा सुरु हुन्छ’–स्वास्थ्य शाखा प्रमुख चौधरीले भने।