बुटवल-रुपन्देहीमा आज आइतबारदेखि लकडाउन खुकुलो हुने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने छन्।
उद्योगी व्यवसायीले निषेधाज्ञा अवज्ञा गर्नेसम्मको चेतावनी दिदै सबै सुरक्षाका मापदण्ड अपनाउने प्रतिबद्धता जनाएपछि प्रशासनले लकडाउन खुकुलो बनाउने जोखिम मोलेको हो।
दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म चल्न पाउनेछन्।
व्यापार व्यवसायलाई बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ। यस्तै सरकारी कार्यालयहरुमा भीडभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ।
बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए।
तर, उद्योग व्यवसाय अन्तरगतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ।
यस्तै सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय, संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने बन्द रहनेछन्। होटल तथा रेष्टुराँ, शैक्षिक संस्थाहरु पनि बन्द रहनेछन्।
आदेश अनुसार होटल र रेष्टुराँ सञ्चालनका लागि रोक लगाइएको छ। त्यसपछि होटल र रेष्टुराँ खोल्ने/नखोल्ने निर्णयबारे प्रशासनले अर्को आदेश जारी गर्नेछ।
आदेशमा भनिएको छ-क्वारेन्टिन र आइसोलेशनका लागि तोकिएका बाहेक अन्य होटल र रेष्टुराँ सञ्चालन गर्न गराउन निषेध गरिएको छ।'
यस्तै शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युशन सेन्टर, भाषा कक्षालगायतका जमघट हुने गतिविधि सञ्चालन गर्न पनि निषेध गरिएको छ।
निजी तथा सार्वजनिक यातायात पनि बन्द रहनेछन्। तर कार्यालय प्रयोजनका लागि चल्ने सवारीमा भने रोक लगाइएको छैन। मुख्य राजमार्गमा चल्ने अत्यावश्यक गाडी पनि चल्न पाउनेछन्।
यस्तै अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायतका क्षेत्रका गाडी भने चल्न पाउनेछन्।
प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने भनेको छ।
यस्तै विभिन्न नाका प्रयोग गरेर गैरकानुनी रुपमा नेपाल भारत आउनजान पनि रोकेको छ। तर बेलहिया नाकाबाट हुने आवतजावतलाई भने नेपाल सरकारले तोकेबमोजिम हुने भनेको छ।
यो निर्णय यही भदौ २० गते रातीदेखि २८ गते राती १२ बजेसम्म कायम रहनेछ।
रुपन्देहीमा समुदायस्तरमा संक्रमण फैलिइसकेकाले जोखिम अझै पनि कायमै छ। रुपन्देहीमा ६ सय भन्दा बढी सक्रिय संक्रमित रहेकाले पनि रुपन्देही जोखिममा छ। दिनदिनै बढ्दै गएका संक्रमितको संख्याले सावधानी नअपनाएमा संक्रमण अरु भयावह बन्न सक्ने संकेत गरेको छ।

