बुटवल–अघिल्लो वर्ष साउन र भदौ महिनामा रुपन्देही लगायतका जिल्लाहरुमा डेंगु रोग महामारीको रुपमा फैलिएको थियो। हरेक टोल तथा कतिपय स्थानमा घरघरैजसो डेंगुका बिरामी देखिएका थिए।
सरकारीदेखि निजी अस्पतालहरुमा ज्वरो आएका बिरामीहरुको भिडभाड हुन्थ्यो। उनीहरुलाई रगत परीक्षण गराउँदा धेरैलाई डेंगु देखिन्थ्यो तीमध्ये कतिपय अस्पतालमा भर्ना हुन्थे। कोही लामो समय घरमा आराम गरेर बसेका थिए।
एडिप्ट एजिप्टाइ जातको पोथी लामखुट्टेबाट सर्ने डेंगुका कारण गत वर्ष रुपन्देहीमा ३ हजार २ सय २९ जना बिरामी भएका थिए। ३ जनाको मृत्यु भएको थियो। तर अहिले डेंगुको खासै चर्चा सुनिएको छैन।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार यो वर्ष जिल्लामा १४ जना जतिमा मात्र डेंगु देखा परेको छ। ‘वैशाख महिनादेखि असार मसान्त सम्म १२ जनामा डेंगु देखिएको छ’–उनले भने–‘त्यसयता त दुई जनामात्र हुन्।’
डेंगुका नफैलिएकै वा कोरोनाको मनोविज्ञान होला त ?
कोरोना महामारी र लकडाउनको कारण यो वर्ष असामान्य परिस्थिति देखा परेको छ। लामो समय व्यापार व्यवसाय बन्द भए। सार्वजनिक ठाउँमा चहलपहल हुन छोड्यो। मानिसहरु घर भित्रै सिमित भए। ओहोर दोहोर कम हुनु र वातावरण सफा हुनुले पनि डेंगुको संक्रमण फैलिन नपाएको हुन सक्ने लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतम बताउँछन्।
‘सबै जना घरमा बसे वरिपरि सरसफाई पनि भयो, हामी बाहिर गएर फोहोर गर्ने काम पनि भएन’–उनले भने–‘मिनेरल वाटरका बोतलहरु सडकमा फ्याकिएनन्। टायरमा जम्मा भएका पानीमा पनि डेंगु उत्पादन हुन्थ्यो, सवारी साधन नचले पछि जथाभावी टायर पनि हुन छाडे।’
कोरोनाको त्रास यतिसम्म भयो कि सामान्य बिरामी हुँदा पनि मानिसहरु अस्पताल जान डराएका छन्। सामान्य रोगलाई दबाएर राख्दा र खानपानको सन्तुलनको कारण पनि डेंगु ज्वरो पहिले जस्तो नदेखिएको हुन सक्ने कतिपयको बुझाइ छ।
लुम्बिनी प्रादेशिक अस्पताललगायत अन्य निजी अस्पतालमा गतवर्ष ज्वरो आउने बित्तिकै पहिले डेंगुकै परीक्षण हुन्थ्यो। तर अहिले कोभिडको परिक्षण हुने गरेको डा. गौतमको भनाइ छ। ‘अहिले त ज्वरो आयो भने पहिले कोरोना भाइरसकै परीक्षण हुने भयो। त्यसपछि बल्ल टाइफाइड डेंगु छ कि भनेर परीक्षण हुन्छ’–उनले भने ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले किटजन्य रोगहरु केही वर्षको अन्तरालमा मात्र फैलिने गरेको भन्दै यो वर्ष डेंगु नदेखिनु स्वभाविक भएको बताए।
‘मलेरिया, कालाजार, डेंगु जस्ता किटजन्य रोगहरु प्रत्येक वर्ष देखिँदैन, कुनै–कुनै वर्ष एक्कासी फैलिन्छ’–उनले भने–‘केही मात्रामा कोरोनाको हल्ला र प्रभाव पनि होला। तर त्यसैले मात्र कम भएका होइनन्।’
अर्को किटजन्य रोग स्क्रब टाइफसका बिरामी पनि यस वर्ष घटेका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यो वर्ष २० जना जतिमा यो रोग देखिएको छ। गत वर्ष २ सय ३६ जनामा स्क्रब टाइफस देखिएको थियो।
स्थानीय तहहरुले कोरोनासँगै डेंगु विरुद्ध पनि सँगसँगै काम गरेको बताउँछन्। बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले डेंगु विरुद्ध आम नागरिकलाई सचेत गराउनुका साथै ठाउँठाउँमा औषधि पनि छरेको बताए।
‘कोरोना नियन्त्रणको लागि वैशाख महिनामा २ सय भन्दा बढी ट्यांकर ब्लिचिङ पाउडर हाइपो सोडियम क्लोराइड लिक्विड छरेका थियौं–उनले भने–सडकका रेलिङसँगै नाली र खाल्डाखुल्डीमा पनि औषधि छक्र्यौ, त्यसबाट लामखुट्टेका लार्भा पनि नष्ट भए।’
त्यसरी लार्भा नष्ट हुँदा केही मात्रामा डेंगुको संक्रमण पनि कम भएको सिंहको दाबी छ। डेंगु नियन्त्रणको लागि कात्तिक महिनामा खोज र नष्ट गर अभियान पनि सञ्चालन गर्ने जनस्वास्थ्य अधिकृत सिंहले बताए।
तिलोत्तमा नगरपालिकाका स्वास्थ्य प्रमुख मोतीप्रसाद पौडेलले अहिले खासै संक्रमण नदेखिएको र देखिने बित्तिकै सचेतना अपनाउने बताए। ‘अहिले हामी कोरोना केन्द्रित छौं, डेंगु देखा परेमा त्यसको लागि पनि कोरोनासँगै डेंगु विरुद्ध पनि सँगसँगै अभियान अगाडि बढाउँछौं।’