भैरहवा–स्वास्थ्य मन्त्रालयले ५ सय भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा, २ सय भन्दा बढी सक्रिय संक्रमित भए सो जिल्ला लकडाउन गर्न निर्देशन दिएको थियो। तीब्र दबाबका बीच रुपन्देहीमा लकडाउन खुकुलो बनाइएको छ।
संक्रमणदर र सक्रिय संक्रमितको तथ्यांक हेर्ने हो भने रुपन्देही उच्च जोखिममा छ। सोमबारमात्रै रुपन्देहीमा ४१ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। सोमबारको तथ्यांकसहित रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ६६२ पुगेको छ।
जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मन्त्रालयको मापदण्डविपरीत लकडाउनको स्वरुप परिवर्तन गरेर स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न खुला ग¥यो। सोही अनुसार गर्ने प्रतिबद्धता जनाएका व्यवसायीहरुले अनुगमन गरेर कडाईका साथ मापदण्डमा ल्याउने प्रतिबद्धता कार्यान्वयन भएको छैन।
लकडाउन खुकुलो भएसँगै प्रशासनले गरेको आदेशमा जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने भने पनि निर्बाध रुपमा मोटरसाइकल, कार, इरिक्सा चलिरहेका छन्। ओहोरदोहोर बढेर सडकको दायाँबायाँ पार्किङ गर्ने ठाउँ खचाखच छ।
यसले कोरोना संक्रमणको जोखिम उच्च बनाएको स्वास्थ्यकर्मीहरु बताउँछन्। स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार अहिले जिल्लामा संक्रमण र डिस्चार्जको अनुपात बराबर छ।
दैनिक रुपमा ३० देखि ४० जना संक्रमित थपिएपनि स्वास्थ्यको नजरमा अवस्था जोखिमपूर्ण रहेकाले उच्च सावधानी अपनाउनुपर्ने उनले बताए। ‘नियमानुसार ५ सयभन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा गर्नुपर्ने हो, तर उद्योगी व्यवसायीहरुले लामो समय बन्दले बजारमा आन्तरिक प्रभाव परेकोले मन्त्रालयको निर्देशन विपरित लकडाउन खुकुलो बनाइएको छ, यसले अवस्था खतरातर्फ पनि जानसक्छ, स्थिति डरलाग्दो हुनसक्छ–उनी भन्छन्–अहिलकोे अवस्थामा जिल्लामा कडाईका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्ने, अनुगमन प्रभावकारी बनाउनु पर्ने, वृद्ध तथा दीर्घरोगीहरु घरबाहिर अत्यावश्यक परेमा मात्रै निस्किनु पर्नेमा यसको पालना भएको छैन, यसलाई प्रभावकारी रुपमा नलगेमा हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता र जनशक्तिले थेग्न सक्दैनौं’–स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गिरीले लुम्बिनी टाइम्ससँग भने।
उनले स्थानीय तहहरु र जिल्ला प्रशासन कार्यालयले नै निरन्तर अनुगमन गर्नुपर्ने बताए। ‘सचेतनामूलक र अनावश्यक चहलपहल रोक्नुपर्छ, जताततै भीड छ दुरी कायम गरेकै छैन, खुकुलो भएपनि सामाजिक दुरी, माक्सको प्रयोग, साबुन पानीले हात धुने लगायतका क्रियाकलाप कडाइका साथ पालना गरी सर्तकता अपनाउनु पर्छ’–स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गिरीले भने।

सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भीष्म प्रसाद न्यौपानेले भैरहवा बजार क्षेत्रमा मास्क, सेनेटाईजरको प्रयोग तथा भौतिक दूरी कायम गरी व्यापार व्यवसाय सञ्चालन भए/नभएको अनुगमनसहित सचेतना कार्यक्रम गरिरहेको बताए।
‘बजार धेरै दिन पछि खुलेकाले भीड हुनु स्वभाविक हो, सुरक्षित भएर व्यवसाय गर्न, सुरक्षाको मापदण्ड पालना गर्न भनेका छौं, त्यसो नगर्ने व्यवसायीलाई कारबाही हुने भनेर माइकिङ समेत गरिरहेका छौं’–उनले भने।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले स्वास्थ्य र सरसफाईका मापदण्ड पालना गर्दै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताए।
‘व्यापार खासै नभएपनि पसलको सरसफाई लगायतका काम भएका छन्, कोरोना भाइरसबारे स्वास्थ्य मन्त्रालयका निर्देशनहरु पालना गर्दे आफु सुरक्षित हुँदै अरुलाई पनि सुरक्षित पार्दै आर्थिक कारोबार पनि सँगसँगै अगाडि लैजानु पर्छ, महामारीमा व्यापार व्यवसाय गर्न जोखिम नै छ सबैले सावधानी अपनाएर व्यवसाय गर्नुपर्छ,’–भण्डारीले भने।
संक्रमण र मृत्युदर बढ्दै
भदौ १ गते रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ सय ७ थियो, १७२ जना सक्रिय संक्रमित र १ जनाको मात्र मृत्यु भएको थियो। विभिन्न स्थानीय तहमा समुदाय स्तरमा संक्रमण फैलिएपछि स्थानीय तहले आ–आफ्नो क्षेत्रमा कडाईका साथ लकडाउन गरेका थिए।
समुदायस्तरमा संक्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालयले भदौ २ गते देखि ७ गते सम्म जिल्ला लकडाउन ग¥यो। त्यसयता दैनिक रुपमा संक्रमणदर बढ्दै गयो। एकसाता नबित्दै भदौ ८ गते रुपन्देहीमा संक्रमण रहेका दीर्घरोगी मर्नेको संख्या ५ पुग्यो, ३१७ जना सक्रिय संक्रमित भए। भदौ १५ गते संक्रमितको संख्या एक हजार पार ग¥यो, जसमा ५५८ जना सक्रिय संक्रमित थिए भने १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
सोमबारमात्रै रुपन्देहीमा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा रुपन्देहीका ६ पालिकाका ६ महिला र ३५ पुरुष गरी ४१ जनामा संक्रमण पुष्टी भएका स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।
सोमबार थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ३ सय २९ पुगेको छ। रुपन्देहीमा सोमबारसम्म १४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ६५३ जना निको भएर फर्किसकेका छन्।

तथ्यांकअनुसार पछिल्लो समय प्रत्येक साता ५ जनाको दरले संक्रमितहरुको मृत्यु भएको छ भने २५० जनाको हाराहारीका संक्रमित थपिएका छन्। आदेश विपरितका पसल र सवारीसाधन समेत सुचारु
रुपन्देहीमा पछिल्लो समय संक्रमितहरुको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ २० गते सम्म कडाइका साथ गरेको लकडाउन गरेको थियो।
२१ गतेदेखि जारी भएको आदेशमा भने लकडाउनको मोडालिटी परिवर्तन भएको छ। निजी क्षेत्रका संघसस्था, उद्योगी व्यवसायीले लकडाउनको अवज्ञा गर्ने भनेपछि व्यवसायी सहितको डिसीसीएमसीको बैठकले लकडाउन खुकुलो गराउने निर्णय गरेर लकडाउन स्वरुप परिवर्तन गरेको हो।
लकडाउनको स्वरुप परिवर्तन सहितको आदेशमा अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म र दैनिक उपभोग्य वस्तु तथा सेवा बिहान ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला गर्ने भनेको छ।
स्वास्थ्य मापदण्ड अपनाएर मात्रै सेवा सञ्चालन गर्ने आदेश दिएर बिहानैदेखि साँझ ७ बजेसम्म बजारमा अहिले चहलपहल सामान्य अवस्था जस्तै छ।
न त कसैले भौतिक दुरीको पालना गरेको न त मास्क प्रयोग। नियमित सेवाहरु सबैले सामान्य तवरले दिइरहेका छन्।
आदेशमा कम्प्लेक्स, सैलुन, ब्युटीपार्लर, डिर्पाटमेन्टल स्टोरहरु बन्द रहने जनाएपनि सञ्चालनमा छन् कि छैनन भनेर अनुगमन गर्ने निकाय पनि मौन छ। बिहान र साँझ खोल्ने भनिएको दैनिक उपभोग्यका व्यवसाय दिनभरि खुलेकै छन्।

लकडाउन खुकुलो भएसँगै प्रशासनले गरेको आदेशमा जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने भने पनि निर्बाध रुपमा मोटरसाइकल, कार, इरिक्सा चलिरहेका छन्।
भीडभाड हुन नदिन भनि खाद्यान्न, तरकारी, फलफूल, दुधजन्य, औषधि, इन्धन, सञ्चारका साधन चल्न पाउने भने पनि निजी क्षेत्रका सबै सवारी साधन निर्धक्क बजारमा चलिरहेका छन्।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले आदेश बमोजिमको काम जिल्ला प्रशासन कार्यालयले गरिरहेको बताए।
‘सुरक्षा मापदण्डमा रही न्यूनतम कर्मचारीको व्यवस्था गरी प्रोटोकलअनुसार अन्य कार्यालयहरुमा पनि सेवा सुचारु भएको छ, प्रशासनले दिएको आदेश सरोकारवाला निकाय, स्थानीय तहले कार्यान्वयन भए/नभएको अनुगमन र कारवाही गर्ने हो’–सूचना अधिकारी थापाले भने।
