बुटवल-यो वर्षको मनसुन अझै केही दिन लम्बिने भएको छ। मनसुन सामान्यतया सेप्टेम्बर २३ मा बाहिरिने भए पनि यसपाली त्यस्तो कुनै लक्षण नदेखिएको मौसमविद् शान्ति कंडेलले जानकारी दिइन्।
मनसुन तोकिएको मितिमै सकिने हो भने अब ६ दिन मात्रै बाँकी छ। मनसुन सकिने बेलामा पश्चिमतिरबाट पूर्वतिर हावा सर्नुपर्छ । तर, अहिले त्यस्तो भएको छैन । अहिले वायु पश्चिमतिर नै सक्रिय भइरहेकोले अझै केही दिन मनसुनको समय लम्बिने भएको मौसमविद् कँडेलले बताइन्।
नेपालमा सामान्यतया जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुनेगर्छ । तर यसवर्ष २ दिन ढिला गरी मनसुन भित्रिएको थियो । मनसुन २ दिनमात्रै ढिला गरी भित्रिएको भए पनि बाहिरिन भने अझै १० देखि १५ दिन नै लाग्न सक्ने उनले बताए।
मनसुन सकिनका लागि देशभरका वर्षा मापन केन्द्रमध्ये ९० प्रतिशत स्टेशनमा लगातार तीनदेखि चार दिनसम्म वर्षा शून्य रेकर्ड भएमा मनसुन सकिन्छ । तर अहिले देशभर नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद् कंडेलले बताए। देशका अरु ठाउँमा भने दिनभर बादल लागेर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ। राति प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
असोज १ गते (बिहीबार)
दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक- दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज २ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
असोज ३ गते (शनिबार)
दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।