बुटवल-कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला चल्ने सार्वजनिक गाडी आज बिहीबारदेखि खुलेका छन्।
मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै यातायात व्यवसायी र मजदुरहरू बिहीबारबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्न तयार भएका हुन्।
यातायात व्यवसायी र चालक महासंघ सम्मिलित संयुक्त कार्यदलले बिहीबारदेखि बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ।
बुधबार विज्ञप्ति जारी गर्दै कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउदै गाडी चलाउन अनुरोध गरेको हो।
चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ। यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ।
बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने निर्णय भएको छ। सिटबाहेक अन्यत्र यात्रु राख्न पाइनेछैन।
यात्रुले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ। यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र भित्र अनिवार्य रूपमा सेनिटाइजर राख्नुपर्नेछ। दैनिक रूपमा बस डिसइन्फेक्ट गर्नुपर्नेछ।
सरकारले बिहीबारबाट लामो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग भेट गरेका थिए। भेटपछि उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यातायात सञ्चालन गर्न दिने निर्णयप्रति सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए।
महासंघ र यातायातसम्बद्ध तीनवटै ट्रेड युनियनले मन्त्री नेम्वाङलाई भेटेर १ असोजदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए। १ असोजदेखि सवारी साधन सञ्चालन गर्न नदिए एकलौटी रूपमा सञ्चालन गर्ने चेतावनी समेत उनीहरूले दिएका थिए।