बुटवल–पश्चिम क्षेत्रकै सबैभन्दा ठूलो मानिने बुटवलको मैनाबगरमा रहेको अटो भिलेजमा विगतमा असोज १ गते विश्वकर्मा पूजाका दिन मेला नै लाग्ने गर्दथ्यो।
तर, बिहीबार बिहानै ८–१० जना व्यक्ति दुरी कायम गरेर विश्वकर्मा मन्दिर पुगे र पूजा गरे। कुनै तामझाम गरेनन्।
अघिल्लै दिन रातीदेखी बत्तीहरुले झिलीमिली पारिन्थ्यो। अटो भिलेज परिसरभित्र तीस चालीस वटा जति मिठाइ, फलफूल, ध्वजा, फोटोहरुका पसल नै हुने गर्दथे। ग्यारेजै पिच्छे गित बज्थे नाचगान हुन्थ्यो।
व्यवसायीले प्रसाद बाँड्ने र भोजभतेर गर्दथे। मैनाबगरमै विश्वकर्मा बाबाको मन्दिर छ। बिहानै देखिगाडीसँगै मन्दिरमा पूजा गर्नेहरुको भीड लाग्दथ्यो।
आज मन्दिरमा पूजाआजा त भयो तर गत वर्षजस्तो भीडभाड र तामझाम देखिएन। कोरोना महामारी र जोखिमको कारण यो वर्ष भीडभाड हुन नदिएको बुटवल अटोइन्जिनियरिङ एशोसिएसनका अध्यक्ष बाबुलाल पाण्डेले बताए।
‘स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर भिडभाड हामीले भित्र पसलहरु राख्न दिएनौं’–उनले भने –‘नाचगान गर्न र भोजभतेर गर्न पनि रोक्यौं, सबैलाई दूरी कायम गरेर पूजा गर्न भन्यौं।’
हप्दादिन अघिबाटै सूचित गरेर कार्यक्रमहरु नगर्न भनेको एशोसिएसनका महासचिव तुल्सीराम न्यौपानेले बताए।
तर मैनाबगरको गेट बाहिर भने अहिले पनि फाटफुट पसलहरु थिए। गाडीधनीरुले बाहिरबाटै पूजाका सामाग्री मगाउँथे, पसलेहरु त्यहाँ पुगेर सामग्री बुझाएर फर्किन्थे।
विश्वकर्मा पूजाको दिन टाढाटाढाबाट पनि सवारी धनी तथा चालकहरु गाडी दिएर पूजा गर्न मैनाबगर पुग्थे।
यसपटक नजिकनजिकका र पायक पर्ने ठाउँबाट आए। ‘चहलपहल त आज पनि थियो तर गत वर्ष जस्तो भिडभाड थिएन’–ए्शोसिएसनका अध्यक्ष पाण्डेले भने–‘केही गाडीधनी सहित हामी अटो एशोसिएसनका सदस्य, पदाधिकारी र पूर्वपदाधिकारीहरु आयौं पूजामा सहभागी भयौं।’
बुटवल अटो इन्जिनियरिङ एशोसिएसनसँग ९ सय जति ग्यारेज व्यवसायी आबद्ध छन्। सयौ मजदुरहरुले यहाँ रोजगार पाएका छन्।
विश्वकर्मा पूजाको अघिल्लो दिन मैनाबगरमा अटोभिलेज एशोसिएसनले सरससफाइ गरेको छ। सरसफाइ सहित भाइरस सेनेटाइजिङ गरिएको अध्यक्ष पाण्डेले बताए।