काठमाडौं-कोरोना भाइरसको महामारीका कारण घरै बसेर काम गर्दै आएका सरकारी कर्मचारीहरु अब अनिवार्य रुपमा कार्यालय जानुपर्ने भएको छ।
सरकारले सबै सरकारी सेवा बिहीबारदेखि सुचारु गर्दै सरकारी क्षेत्रका सबै कर्मचारीलाई कार्यालयमा उपस्थित हुन भनेको छ। कतिपय कार्यालय बिहीबार नखुलेपनि अनिवार्य रुपमा कार्यालय सुचारु गर्न सरकारले निर्देशन दिएको छ।
घरबाटै काम गर्दै आएका करीब ८० प्रतिशत कर्मचारीलाई कार्यालय फर्केर नियमित रुपमा काम सुरु गर्न सरकारले निर्देशन दिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयको काम नियमित गर्न निर्देशन दिने बताए।
उनका अनुसार संघ, प्रदेश र स्थानीय तहमातहतका सबै क्षेत्रका सबै कार्यालयहरु शुरु गर्नुपर्नेछ। भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सबै सरकारी कार्यालय, निकाय र संस्थानहरूले नियमित रूपमा कार्यालयको सेवा सञ्चालन गर्ने र यसरी सेवा सञ्चालन गर्दा सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्ने गराउने निर्णय गरेको थियो।