बुटवल–कोरोना महामारी र लकडाउनका कारण लामो समय बन्द रहेका सार्वजनिक सवारी साधन चल्न थालेका छन्। सरकारले असोज १ बाट सार्वजनिक सवारी साधन चलाउन अनुमति दिएपनि व्यवसायीले २ गते फाटफुट रुपमा गाडी चलाए।
त्यसपछि तयारी गरेर मात्रै लामो दुरीका गाडी चलाउन थालेका छन्। पश्चिम नेपाल बस व्यवसायी प्रालि र भैरहवाको सिद्धार्थ सार्वजनिक यातायात प्रालिले शनिबारदेखि बस चलाएका छन्।
तर यात्रुको अभावमा निकै कम मात्र बस सडकमा गुडेका छन्। अहिलेलाई बिनातालिका केही बस चलेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जीवन बन्जाडेले बताए। ‘सामान्य अवस्थाको भन्दा ५ प्रतिशत मात्र गाडी सडकमा गुडेका छन्’–उनले भने –‘तालिका निकालेका छैनौ, ५ गतेसम्म क्युफ्री छ, ६ गतेबाट तालिका निकालेर गाडी सञ्चालन हुन्छन्।’
यात्रुको अवस्था बुझेर कसरी तालिका बनाउने भन्नेबारेमा छलफल भइरहेको बन्जाडेले बताए। तालिका अनुसार गाडी नचलेको भएपनि पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफ्ना कर्मचारी बुटवल बसपार्कको टिकट काउन्टरमा पठाइसकेको छ।
बुटवलबाट लामो दुरीका निकै कम मात्र गाडी चलेका छन्। शनिबार दुई वटा गाडी मात्र काठमाडौको लागि छुटेका थिए भने आइतबार पनि अवस्था त्यस्तै रह्यो। यात्रु आएमा बेलुकामा पनि गाडी चल्छन्। शनिबार बेलुका काठमाडौंका लागि २ वटा गाडी छुटे।
पहाडी जिल्लामा पनि फाटफुट गाडी चलेका छन्। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गाडी चलाउन थालिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक बन्जाडेले बताए। ‘दुइ सिटमा एक जनामात्रै राखेका छौं, सवारी चालक र सहयोगीले अनिवार्य माक्स लगाउनु पर्नेछ, माक्स नलगाएका यात्रु यात्रा गर्न पाउने छैनन्’–उनले भने।
भैरहवाको सिद्धार्थ सार्वजनिक यातायात व्यवसायी प्रालिले पनि केही गाडी चलाएको छ। ‘केही व्यवसायीले गाडी चलाउनुभएको छ, औपचारिक रुपमा ५ गतेपछि मात्र चलाउँछौं’–प्रालिका अध्यक्ष सञ्जीव रोकाले भने–‘अहिले दश बाह्र वटा गाडी मात्र भैरहवा–बुटवल र भैरहवा–तौलिहवा चलेका छन्।’
सिद्धार्थ सार्वजनिक यातायात प्रालिसँग करिब ५ सय वटा बसहरु रहेका छन्। लामो दुरीमा भने गाडी नचलाएको रोकाले बताए। बुटवल र भैरहवाका टिकट काउन्टरमा कर्मचारी खटाइसकेको उनको भनाइ छ।
भैरहवाकै अर्को यातायात कम्पनी सिद्धार्थ यातायात प्रालिले असोज १ गतेदेखि नै आफ्ना बसहरु सञ्चालन गरेको छ।
‘सामान्य अवस्थामा बुटवल भैरहवा २० वटा गाडी चल्थे, अहिले ८ वटा गाडी मात्र निकालेका छौं’–सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्य सारुले भने। कम्पनीबाट बेलहिया काठमाडौं दैनिक २ वटा गाडी चल्ने भएपनि अहिले नपठाइएको उनले बताए।
बुटवल यातायात व्यवसायी समितिले पनि ५ गतेदखि मात्रै क्यु व्यवस्थापन गर्ने बुटवल यातायात प्रालिका सचिव दिपकप्रसाद श्रेष्ठले बताए।