दाङ–दाङको गढवामा सर्पदंशको उपचार सुरु भएको छ। दाङ जिल्लामा सर्पदंशको उपचार नपाएर गत आर्थिक वर्षमा मात्रै १५ जना व्यक्तिले अकालमा ज्यान गुमाएको तथ्यांक सरकारी कार्यालय सँग छ। अब सर्पदंश उपचार केन्द्रमा उपचार सुरु भएपछि उपचारको अभावमा हुने अकाल मृत्यु रोकिने छ ।
धेरै सर्पदंशका बिरामीले नयाँ जीवन पाउने विश्वास गरिएको छ। कपिलवस्तुको गोरुसिङ्गे र बाँकेको भेरी प्रादेशिक अस्पतालमा उपचारको लागि बिरामी जाने गरेका थिए । समयमा अस्पताल पुर्याउन नसक्दा धेरैको बीच बाटोमै अकालमै मृत्यु हुने गरेको थियो।
गढवा गाउँपालिकाको लगानीमा निर्माण भएको भवनबाट नेपाली सेना रिपुमर्दन गण दाङको प्राविधिक सहयोगमा सर्पदंशको उपचार सुरु भएको हो । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले गढवामा स्थापना भएको सर्पदंश उपचार केन्द्रको उद्घाटन गरे। मुख्यमन्त्री पोख्रेलले सर्पदशं उपचार केन्द्रलाई व्यवस्थीत रुपले सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताए ।
‘सर्पदंश उपचार केन्द्रको माध्यमबाट मानिसको जीवन रक्षा गर्ने ठूलो उपलब्धि हासिल भएको छ’-पोख्रेलले भने–‘खेती किसानीमा संलग्न व्यक्ति, गरिब, विपन्न वर्गका मानिसलाई सर्पले बढी डस्ने गरेको तथ्यांकले बताउछ । उहाँहरुलाई नयाँ जीवन दिन यो उपचार केन्द्रको भूमिका ठूलो रहन्छ ।’
सर्पदंश उपचार केन्द्रमा तत्कालको लागl नेपाली सेनाले तीन जना आफ्नो तालिमप्राप्त स्वास्थ्यकर्मी खटाएको छ भने, गाउँपालिकाले दुई जना दक्ष स्वास्थ्यकर्मी परिचालन गरेर छ। सात ओटा वेड राखेर ईमरजेन्सी वार्ड, भर्ना वार्ड, ड्रेसिङ्ग कक्ष बनाइएको छ।
पहिलो पटक सर्पदंश उपचार केन्द्रमार्फत सर्पदंशको उपचार सुरु भको गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवले जानकारी दिए। आर्थिक वर्ष २०७६/०७७ मा रितु निर्माण सेवाले ४० लाखको लागतमा सर्पदंश उपचार केन्द्र र निमादेवी निर्माण सेवाले २७ लाखको लागतमा ६ कोठे आर्मी बस्नको लागी घर निर्माण गरेको हो।
जिल्लाका लमही अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सर्पदंशका बिरामीको उपचार गर्न एन्टीस्नेक भेनम औषधी भएपनि उपचार नगर्दा बिरामीको बिचल्ली हुदै आएको थियो। अब सर्पदंश उपचार केन्द्र मार्फत बिरामीको उपचार गरिने र नयाँ जीवन प्रदान गरिने अठोट गाउँपालिकाका अध्यक्ष यादवले लिए।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षता एवम् प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले स्वास्थ्य क्षेत्रमा देउखुरीले फड्को मार्न थालेको बताए ।
प्रदेश सभा सदस्य ईन्द्रजीत थारुले जिल्लाका अन्य अस्पतालहरुमा पनि सर्पदशंकको उपचारलाई प्रभावकारी बनाउने तर्फ प्रदेश सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुजिता शाक्य, प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, दामा शर्मा, सरस्वती गौतम लगायत सुरक्षा निकाय, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका कर्मचारी कुलराज कुमालले गरेका थिए।