कपिलवस्तु–जाडो मौसम शुरु भएसँगै विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तु नगरपालिका वडा नम्बर ९ र १० स्थित जगदीशपुर तालमा आगन्तुक चराहरुको आगमन बढेको छ ।
जाडो मौसम सुरु भएसंगै असोजदेखि आगन्तुक चराहरु आउन सुरु गरेका थिए । बिश्व सीमसार क्षेत्रमा सुचीकृत तालमा साइबेरिया तथा अन्य मुलुकबाट चराहरु आउने गर्दछन् ।
असोजबाट चराहरुको आगमन बढेको स्थानीय अगुवा ललित गुरुङले बताए । तालमा जडो छल्न र बच्चा कोरल्नका लागि विदेशी चराहरु आउने गरेको चराविज्ञहरु बताउँछन् । तराईमा जाडो मौसम सुरु भएपछि तिनीहरुको आगमन बढेको हो ।
साँझ र बिहानको समयमा आगन्तुक चरा हुलका हुल आउने गरेकोे स्थानीय देवराज पाण्डेयले बताए । तराईतिर चिसो शुरु हुन साथ तालमा आउने गर्दछन् । चराचुरुङ्गीहरु चार–पाँच महिना बसी फर्किने गर्दछन् । ‘अहिले ताल चराचुङीले ढाकिएको छ, जहाँ हे¥यो त्यहीं चराचुरुङगी दखिन्छ’–स्थानीय सुन्दर पाण्डेयले भने–‘चरा र तिनिहरुको चिरबिराहटले ताल निकै मनमोहक देखिएको छ ।’
साँझ र बिहान दैनिक पाँच सय बढी चराचुरुङगीले तालमा आउने गरेको उनले बताए । साईबेरिया, रसिया, चीन, मंगोलिया, मध्यएशियाका तुर्केमिनिस्तान र किर्गिस्तान लगायतका देशहरुबाट तालमा चराहरु आउने गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ ।
ती देशहरुमा बढी जाडो हुने भएकाले चराचुरुङ्गी जाडो छल्न नेपालको तराईतिर आउने क्रममा यहाँ आउने बताइन्छ । त्यस्तै जाडोका बेला सो क्षेत्रमा हिउ पर्ने र आहारा नपाइने हुँदा पनि चराहरु यता आउने गरेको चराविद डा. हेमसागर बरालले बताए ।
तालमा ढुंगा सञ्चालन गरिएको र विभिन्न संरचना निर्माण गरिएपछि मानवीय गतिविधिहरु बढेको प्रति भने चिन्ता प्रकट गरे । ‘चरालाई सुरक्षित हुने गरी तालमा काम गर्नुपर्छ नत्र यसले असर गर्छ, चराहरु ७ देखि १० दिन लगाएर यहा पुग्ने गरेका छन् । करिब ४ देखि ५ हजार माईल उडेर चराहरु यहाँ आउने गर्छन्, उनीहरुलाई दुःख दिनुहुन्न–वरिष्ठ चराविद् डा. बरालले भने ।
५÷६ महिना बसेपछि गर्मी बढेपछि फागुन चैततिर चराहरु फर्किने गर्दछन् । जगदीशपूर ताल सदरमुकाम तौलिहवा देखि करीब ११ किमी उत्तरमा पर्छ । यस वर्ष ५० हजार भन्दा बढी बढी चराचुरुङ्गीहरु आउने जगदीशपुर ताल बहुसरोकार मंचका अध्यक्ष ललित गुरुङले बताए । उनले चराचुरुङगीलाई असर नपर्ने गरी काम अघि बढाएको बताए ।
तालमा रहेका चरा र माछाको चोरी शिकारी हुन नदिन सुरक्षा र निगरानी बढाइएको उनले बताए । यहाँ कतिपय चराचुरुङगीले फुल पारी बच्चा हुर्काउने गर्छन् । यस वर्ष चराहरुको आवागमनले निकै रोमाञ्चित बनाएको स्थानीय मेघराम भुसालले बताए । निकै आकर्षण र मनमोहक देखिने तालमा चराचुरुङगीको जल विहार, चिरबिराहट र जलक्रिडाले मानवीय जीवनलाई रोमाञ्चित बनाउने हुदा यस बर्ष तालमा प्रसस्त स्वदेशी विदेशी पर्यटकहरु समेत आउने उनले विश्वास व्यक्त गरे । तालमा सिमसारमा आश्रित ६१ प्रजातिका र अन्य ५७ प्रजातिका चरा चुरुङगीहरु पाइन्छन् ।
त्यस्तै विश्वमै दुर्लभ मानिएका ७ प्रजातिका चराहरु पाईने कुरा नेपाल पंक्षी संरक्षण संघले जनाएको छ । तालमा पेकिंग डग, नीलटाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानीहाँस प्रशस्त देखिन्छन् । त्यस्तै तालमा सारस, सुनजुरे, भुडिफोर, ध्यानीबकुल्ला र सेतो गरुड लगायतका चराहरु पनि यहाँ आउछन् । १५७ हेक्टर क्षेत्रफलमा फैलिएको ताल कृत्रिम रुपमा बनाईएको नेपालकै सबैभन्दा ठूलो ताल हो । ताल सन २००३ मा अन्तरराष्ट्रिय सिमसार क्षेत्र रामसारमा सुचीकृत भएको थियो ।