बुटवल–हिजो मंगलबार देखि पुनः सक्रिय भएको मनसुन आज प्रदेश नं ५ सहित देशका अधिकांश भागमा झन् बढी सक्रिय हुने भएको छ।
मौसम विभाग, मौसम पूर्वानुमान शाखाले आज देशका अधिकांश स्थानमा मध्यमदेखि भारी र अति भारी बर्षा समेत हुने प्रक्षेपण गरेको छ।
देशका अधिकांश स्थानमा रातीदेखि नै पानी परिरहेपनि भारतको छत्तिसगढ नजिक रहेको न्यूनचापीय प्रणाली दिउसो वा साँझतिर रुपन्देही जिल्ला र आसपासका क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने प्रक्षेपण गरिएको मौसमविद् मिनकुमार अर्यालले लुम्बिनी टाइम्सलाई बताए।
दिउसो एकैछिन पानी रोकिएर मौसम खुलेपनि साँझपख पुनः घना बादलले ढाक्ने र मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।
यो मनसुनी रेखा भारतको छत्तिसगढ नजिक रहेकाले मध्यपहाडी क्षेत्रको तुलनामा तराई क्षेत्र र तराइसँग जोडिएका नजिकैका पहाडी क्षेत्रमा भारी वर्षा हुने छ।
यस्तो रेखा नेपालको तराइ क्षेत्रमै आइपुग्यो भने पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहन्छ। तर अहिले नै उक्त न्यूनचापीय रेखा नेपालकै आकाशमा आउने सम्भावना छैन।
यद्यपि बलियो सिस्टम भएकाले छत्तिसगढमा न्यूनचापीय रेखा रहेपनि त्यसले सिर्जना गरेको मनसुनी वायुको प्रभाव नेपालमा बढी नै पर्ने देखिएको हो। अब ३ दिनसम्म नै सबै प्रदेशका एक दुई स्थानमा अति भारी वर्षा समेत हुनेछ।
अति भारी वर्षा हुने क्षेत्र एकिन गर्न गाह्रो हुने भएपनि तराई नजिकैका चुरे क्षेत्रमा यस्तो सम्भावना बढी रहेको मौसमविद् अर्यालले बताए। उनका अनुसार कुनै क्षेत्रमा २४ घण्टामा ५० मिलिमिटर भन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भन्ने गरिन्छ।
त्यस्तै बाढी पूर्वानुमान शाखाले पनि आज देशभरका अधिकांश खोलानालाहरुमा आकस्मिक बाढीको प्रक्षेपण गरेको छ।
प्रदेश ५ का तिनाउ, वाणगंगा, पश्चिम राप्ती, बबइ नदीहरुमा आकस्मिक बहाब बढ्ने भनेको छ। प्रदेश ५ का पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम, प्युठान र दाङका खोलाहरुमा पनि बाढीको सम्भावना छ।