बुटवल–कपिलवस्तुमा विद्युत प्राधिकरणका २ जना कर्मचारीको बाढीले बगाएर मृत्यु भएको छ। कपिलवस्तुको वाणगंगा जितपुर फिडर सेवामा कार्यरत इन्चार्ज कृष्ण प्रसाद पौडेल र सवारी चालक माधव पाण्डेको बाढीले बगाएर मृत्यु भएको हो।
उनीहरु जितपूरबाट पडेरियामा रहेको ट्रान्सफर्मरमा फ्युज बनाएर फर्किदै थिए। गाडीमा सवार रहेका ६ जनामध्ये अरु १ जना बेपत्ता भएको र ३ जनाले हाम फालेर ज्यान जोगाएको विद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन प्रदेश ५ की अध्यक्ष कल्पना थापाले जानकारी दिइन्।
अपडेट
कपिलवस्तु वाणगंगा ७ कपिलधाम नजिक कोईली खोलामा बा १ ञ १०८९ नं को गाडी बगाएको हो। बाढीले बगाएर गाडी चालक गुल्मी रेसुङ्गा ५ का अन्दाजी वर्ष ३५ का माधव पाण्डेको मृत्यु भएको हो। उनको शव फेला परेको छ।
प्रहरीका अनुसार जितपूर विद्युत शाखा प्रमुख कपिलवस्तु वाणगंगा १ बस्ने अन्दाजी वर्ष ५२ को कृष्ण प्रसाद पौडेल बेपत्ता छन्। उनको शव गाडीमा देखिएपनि गाडीसहित खोलाबाट क्रेनले निकाल्न खोज्दा झ्यालको शिसा फुटेर शव बाहिर निस्केको र शव खोलाले बगाएको प्रहरीले बताएको छ।
यस्तै अर्घाखाँची शीतगंगा १३ का वर्ष ६२ को जित बहादुर भाट क्षेत्री बेपत्ता छन्।
कपिलवस्तु वाणगंगा ८ बस्ने अन्दाजी वर्ष २७ का विजय पोख्रेल, वाणगंगा ४ बस्ने अन्दाजी वर्ष ३९ का पर्सुराम चौधरी र वाणगंगा ८ बस्ने अन्दाजी वर्ष ३२ की कोपिला अधिकारी हाम फालेर बाँचेको प्रहरीले जनाएको छ।
विद्युत प्राधिकरण कपिलवस्तु प्रमुख जयकुमार यादवले बेपत्ता भएका व्यक्ति र शवको खोजी भइरहेको बताए। उनका अनुसार अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। अहिले राती भएकाले खोजीमा कठिनाई भएको उनले बताए।