पाल्पा-पाल्पामा अविरल वर्षापछि खसेको पहिरोले ३ घर पुर्दा ६ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले बिहीबार बिहान तीन घर पुर्दा ६ जना बेपत्ता भएका हुन् ।
बेलौजा स्वास्थ्य चौकी नजिकै खसेको ठूलो पहिरोले हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएको वडाध्यक्ष उमानसिंह सारुले जानकारी दिए। उनका अनुसार मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना सम्पर्कविहीन भएका छन् ।
अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसेपनि ज्यान जोगाउन सफल भएका थिए। पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।
बुधबारदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। जसका कारण पहिरोको जोखिम रहेका क्षेत्रहरुमा त्रास बढेको छ।