काठमाडौं-नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँको अगुवाइमा जारी सत्याग्रहमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ऐक्यवद्धता जनाएको छ।
आफ्नो श्रमको सम्मान र मासिक तलवको लागि निरन्तर रुपमा झरीको प्रवाह नगरी पाँच दिने सत्याग्रह अभियानमा बसेका उनीहरुको हौसला र सर्घषको लागि साथ दिनका लागि लागि राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे नेपालका महासचिव प्रदीपराज वन्तको नेतृत्वमा केन्द्रिय कमिटिले ऐक्यबद्धता जनाएको हो।
ऐक्यवद्धता कार्यक्रममा सम्पूर्ण फोटोपत्रकारहरुको क्यामेरा डाउन गरिएको थियो। समूहका महासचिव प्रदिपराज वन्तले कतिपय फोटोपत्रकारले पनि मिडियाबाट मासिक तलब नपाउने गरी काममा लगाएको भन्दै त्यस्ता मिडियाको सो निर्णयको निन्दा गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सचिव धमेन्द्र कर्णको नेतृत्वमा २५ सदसीय ’सञ्चारगृहका पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष समिति’ गठन गरेको छ।
अन्नपूर्ण दैनिकबाट पीडित विकास कार्की सहसंयोजक रहेको सो संघर्ष समितिका सदस्यहरुमा कान्तिपुर, अन्नपूर्ण, कारोबार, नागरिक दैनिक तथा एभिन्युज, माउन्टेन टिभी र नेपाल आजलगायतका मिडिया हाउसहरुबाट पीडित पत्रकार तथा कर्मचारीहरु रहेका छन्।
साथै सो सत्याग्रह आन्दोलनको समग्र नेतृत्व गरिरहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले पनि पत्रकारहरुको हकहितको लागि भोलिका दिनमा जस्तो सकै कदम चाल्न पत्रकार महासंघ दृढ रहेको बताएका थिए।