भैरहवा–रुपन्देहीमा शुक्रबार ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या दुई हजार ३ सय ४५ पुगेको छ भने ८० जना संक्रमण मुक्त भएका छन्।
विभिन्न ल्याबमा गरिएका परीक्षण अनुसार शुक्रबार साँझ साढे ६ बजेसम्म विभिन्न ६ पालिकामा २३ महिला र ४० पुरुष कोरोना भाइरसका संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले लुम्बिनी टाइम्सलाई जानकारी दिए।
शाहका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका १३ महिला २६ पुरुष गरी ३९ जना, सिद्धार्थनगरमा ९ जना, तिलोत्तमा र सैनौमना नगरपालिकामा ६÷६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।
त्यस्तै देवदह नगरापलिकामा २ जना, मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ३ सय ४५ पुगेको शाहले जानकारी दिए।
कार्यालयका अनुसार हालसम्म संक्रमण भएकामध्ये २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १६११ जना निको भएर फर्किसकेका छन् भने ७१३ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।