गुल्मी-गुल्मीमा कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म ५ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुनैसमय सक्रिय संक्रमित नरहेको गुल्मीमा पछिल्लो समय संक्रिय संक्रमितको संख्या बढ्दै गएको छ।
जिल्लाका सबै स्थानीय तहमा गरेर ५० जना सक्रिय कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। जिल्लामा अहिले १ सय १२ पुरुष र ४७ जना महिला क्वारेन्टिनमा छन् । मदाने होल्डिङ सेन्टरमा ३२ पुरुष र ७ महिला, रुरु होल्डिङ सेन्टरमा ३८ पुरुष र २१ महिला रहेको कार्यालयले जनाएको छ।
कुन स्थानीय तहमा कति संक्रमित
गुल्मीको इस्मा गाउँपालिकामा अहिलेसम्म ५१ पुरुष र १४ पुरुष, कालिगण्डकीमा ५ पुरुष, गुल्मी दरवार गाउँपालिकामा ६६ पुरुष ६ महिला, चन्द्रकोट गाउँपालिकामा ३६ पुरुष १४ महिला, छत्रकोट गाउँपालिकामा ३९ पुरुष १० महिला कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ श्रोतव्यक्ति गोपाल कार्कीले जानकारी दिए ।
त्यस्तै धुर्कोट गाउँपालिकामा ३१ पुरुष ९ महिला, मदाने गाउँपालिकामा १७ पुरुष, मालिका गाउँपालिकामा १८ पुरुष, मुसिकोट नगरपालिकामा ३३ पुरुष र ७ महिला, रुरु क्षेत्र गाउँपालिकामा ४५ पुरुष र ६ महिला, रेसुंगा नगरपालिकामा ४५ पुरुष र १६ महिला तथा सत्यवती गाउँपालिकामा ३० पुरुष र ९ जना महिलामा कोरोना संक्रमण भएको कार्कीले बताए ।
कुन–कुन क्षेत्र प्रभावित
कोरोना संक्रमित देखिएसंगै जिल्लाको मुसिकोट नगरपालिका कार्यालयको सेवा प्रबाह बन्द गरिएको छ । कार्यालयकै कर्मचारीहरुमा कोराना संक्रमणको पुष्टि भएपछि नगर कार्यपालिकाको कार्यालयसंगै वडा नं ७ सिल गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए ।
त्यस्तै रुरु क्षेत्र गाउँपालिका वडा नं १ पनि सिल गरिएको छ । बजार क्षेत्रमानै कोरोना संक्रमित देखिएपछि वडा सिल गरिएको रुरु क्षेत्र गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामलाल विकले बताए । सत्यवति गाउँपालिकाको जुहाङ प्राथमिक स्वास्थ्य केन्द्रको इमरजेन्सी बाहेका सेवा बन्द गरिएको छ ।
अन्य क्षेत्रमा उच्च सर्तकता अपनाइएको स्वास्थ्य संयोजक सुर्य बहादुर रानाले बताए । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्यालाई कोरोना संक्रमणको पुष्टि भएपछि तत्काल अस्पतालमा उच्च सर्तकता अपनाईएको छ भने पच्याको सम्पर्कमा आएका कर्मचारीसहित करिव एक सय बढि स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन गरि परिक्षणको लागि पठाइएको छ ।