बुटवल-बुटवल क्षेत्रमा शुक्रबार राती भीषण वर्षा भएको छ। राती करीब ८ बजेदेखि राती ११ बजेसम्म नै लगातार भीषण वर्षा भएको हो। वर्षाका कारण तिनाउ नदीमा बाढी आएको छ भने सडकहरुमा खोलामा जस्तै बाढी आएको छ।
तिनाउ नदीमा राती ९ बजेदेखि बाढीले खतराको तह पार गरेको छ। सामान्यतया ५.६ मिटरसम्म खतराको तह पार गरेको मानिनेमा राती ९ बजेदेखि तिनाउमा ६.५९२ मिटरसम्म पुगेको छ।
बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदीमा खतराको तह पार गरेको जनाएको छ। राती ९:२० बजेदेखि तिनाउमा निरन्तर बाढी आइरहेको छ। बाढी पूर्वानुमान महाशाखाको रियलटाइम वाचमा बाढी निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ।
लगातार परेको वर्षाले बुटवल क्षेत्रका धेरैजसो सडक डुबानमा परेका जानकारीहरु सामाजिक सञ्जालमा देखिन्छन्।
धेरैले यति ठूलो वर्षा लामो समयपछि पहिलोपटक थाहा पाएको भन्दै सबैलाई सुरक्षित रहन आह्वान गरेका छन्।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले तिनाउ नदीमा बाढी आएको हुनसक्ने भएकाले सुरक्षित रहन आह्वान गरेकी छिन्।
यस्तै बुटवलको शिर सिद्धबाबा क्षेत्रमा पनि भीषण वर्षा भएको र सिद्धार्थ राजमार्गका ठाउँठाउँमा पहिरो गएको खबर छ। सिद्धबाबा मन्दिर तिनाउका अध्यक्ष डीबी गुरुङले सिद्धबाबा मन्दिरनजिकै पहिरो गएको जानकारी पाएको बताएका छन्।