बुटवल-रातभर आएको भीषणा वर्षाले रुपन्देहीका विभिन्न स्थानमा डुबान तथा नदीकटानले असर गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीका देवदह, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक नगरपालिकामा बस्तीहरु डुबानमा परेका छन्।
तिलोत्तमा नगरपालिकाको मंगलापूरमा ५० वटा घर डुबानमा परेका छन्।
तिलोत्तमामा सुखौरा खोलाले बस्तीलाई असर गरेको जानकारी आएपनि पूरा विवरण आएको छैन।
देवदहको भलुहीमा ५ वटा घर डुबानमा परेका छन्। देवदह चरंगेमा एउटा घर खोलाले बगाएको छ भने एउटा घर जोखिममा रहेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका १२ मा ४ वटा घर भारी वर्षाका कारण भत्किएका छन्।
तिनाउ नदीको किनार बुटवलमा बसेका बासिन्दालाई रातभरजसो तिनाउ पुलनजिकै राधाकृष्ण मन्दिरमा ल्याएर सुरक्षित साथ राखिएको छ। तर बुटवलमा कुनै क्षति भएको जानकारी नआएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
तिनाउ नदीले कटान गरेको छ। बिहान ७ बजेसम्म क्षतिको विवरण आइनपुगेको प्रहरीले जनाएको छ।
डुबान र कटान भएपनि कतैपनि मानवीय क्षतिको खबर छैन।