बुटवल-रातभरको भीषण वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तरगत बुटवल-तानसेन सडक खण्डको दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
पाल्पा तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ।
अहिले बुटवल-तानसेन सडक खण्ड पूर्ण रुपमा बन्द रहेकाले पहिरो नहटेसम्मको लागि सो सडकमा पैदल यात्रा तथा सवारी आवागमन नगर्न प्रहरीले आग्रह गरेको छ।
तिनाउ नदीले दोभान क्षेत्रमा कटान गरेपनि मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।
तिनाउ -२ घोडेबासमा पहिराेले स्थानीय यज्ञ खरेल, टिकाराम खरेललगायतका घरमा क्षति पुर्याएको छ। सो स्थानमा प्रहरी गएको र पूरा विवरण आउन बाँकी रहेको प्रहरी चौकी दोभानले जनाएको छ।
'सिद्धार्थ राजमार्गको एकदर्जनभन्दा बढी ठाउँमा पहिरो गएको जानकारी आएको छ,प्रहरी चौकी दोभानका हवल्दार चुरामणि पोखरेलले भने-क्षतिको विवरण आइपुगेको छैन, हामी विवरण तयार गर्दैछौं।'