भैरहवा–शुक्रबार राती देखि परेको वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र जलमग्न भएका छन्। पाल्पा क्षेत्रमा परेको भीषण वर्षाले तिनाउ नदीमा बाढी आएपछि तिनाउ नदी किनारका बस्ती प्रभावित भएका हुन्।
वर्षाले तिनाउ, दानव र रोहिणी नदी आसपासका क्षेत्र बढी प्रभावित भएका छन्। नदी आसपासका मर्चवार, ओमसतिया, सियारी, मायादेवी, देवदह, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक नगरपालिकामा बस्तीहरु डुबानमा परेका छन्।
अचानक आएको बाढीले नदी किनारका समुदाय तथा गाउँ नै जलमग्न भएका छन् भने किसानले लगाएको खेतीमा समेत ठूलो क्षति पुर्याएको छ। बाढीले लाखौको तरकारीबालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन्।
बाढीको आउछ भनेर पूर्व जानकारी सुरक्षा निकायले गराएकोले मानवीय क्षति नभएपनि भौतिक क्षति भएको छ।
तिनाउमा जलस्तर बढेर खतराको तह पार गरेसँगै बेथरी बजारमा समेत पानी पसेर पसलहरु जलमग्न भएको छ।
त्यस्तै बनगाई, मकरी, गैरगट्टी, गुरवनिया लगायतको क्षेत्र डुबानमा परेको छ। बाढीले मकरीमा मर्चवार जाने मुख्य सडक अवरुद्ध भएको छ।
वर्षाले रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर ५ पिपरहिया पनि डुबानमा परेको छ। रोहिणी नदीमा पानीको सतह बढेपछि सो गाउँका १५ वटा घर डुबानमा परेका छन्। मर्चवारका बासिन्दा राती बाढी आएसँगै जाग्राम बसेका थिए।
वर्षाले लुम्बिनी साँस्कृतिक नगरपालिका १२ सुनवलका ४ वटा घरका पर्खाल भत्किएका छन्। यस्तै शनिबार बिहान ३ बजेको समयमा तिलोत्तमा नगरपालिका वडा नं.११ गणेशनगर स्थितमा अबिरल वर्षाले सुखौरा खोलाको बहाव बढेर गणेशनगरका धन बहादुर सार्कीको टिनले छाएको कच्ची घर र बुंगुरको खोर बगाएको छ। त्यस्तै रघुविर दमाई, मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर समेत बगाएको छ।
त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ वडउलिया स्थित बलिराम हरिजनको एक तले खरले छाएको कच्ची घर वर्षाले भत्किदा हरिजनकी श्रीमती कुसुम हरिजनको दाहिने खुट्टा भाँच्चिएको छ।
तिलोत्तमा नगरपालिका वडा नं.८ सातकुला स्थितमा अविरल वर्षाको कारण सातकुला (पानीको नहर) ले ४५ वर्षीय ठाकुर प्रसाद थारुको ब्लक र जस्ताले बनेको एक तले कच्ची घरको एक तर्फको भित्ता भत्काएको छ।
देवदह न.पा.१० रम्बादेवीटोल स्थितमा अविरल वर्षाको कारण चरंगे खोलाको किनारमा रहेका राम श्रेष्ठको ३ कोठे १ तले ब्लक र जस्ताले बनाएको घर र घरमा रहेका २ वटा बाख्रा, ५–६ वटा कुखुरा, लत्ता कपडा, खाद्यान्न र अन्य सामान बगाएको छ।
त्यस्तै मर्चवारी र सम्मरीमाई गाउँपालिका मन्झरिया, लोहाटोला, बरगर टोला, भरवलिया, देबन्डी लगायतका क्षेत्रका १५ भन्दा बढी घरमा क्षति पुर्याएको छ।
घरमा क्षति भएपछि उनीहरु केही आफन्तको घरमा बास बसेका छन् भने अन्यलाई प्रहरीले उद्वार गरी व्यवस्थापन गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले जानकारी दिए।
सम्मरिमाइ ५ देबन्डीको प्रभावती मल्लाहको टिन र फलामको डण्डीले बनाएको घर भत्किदा ५ जना घाइते भएका छन्।
प्रभावती मल्लाहको निधारमा चोट लागेको छ भने परिवारका अन्य सदस्य ३० वर्षिय उर्मिला साहनी, बालिका ममत मल्लाह, बालक अन्कुस मल्लाह र अनुसम मल्लाहलाई चोट लागेको छ। घाइते सबैको भिम अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी खत्रीले जानकारी दिए।